जोशीको ‘श्रमाटन’

ललितपुर । लेखक बिएन जोशीद्वारा लिखित पुस्तक ‘श्रमाटन’ सार्वजनिक भएको छ । पुस्तकको सञ्चारकर्मी राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा, लेखक मालिका केशरी, कवि लक्ष्मी रुम्बा, लेखक आन्विका गिरी, प्रकाशक मणि शर्मा, शुभ मल्ल, जगदीश भेटुवाल, भुवन बरालसहित लेखक स्वयंले सार्वजनिक गरेका हुन् । ललितपुरको होटल ग्रिनविच भिलेज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको पुस्तकमा विदेशिने क्रममा भोगेका पीडालाई उल्लेख गरिएको छ । जोशी कलिलै उमेरमा आर्थिक क्रान्तिमा लाग्ने क्रममा पाएका दुःखलाई पुस्तकमा समेटिएको छ । आफ्नो पारिवारिक निर्णयविपरीत मलाया लाहुरे हुँदाको कथासँगै समग्र विदेशिएका युवाको जीवनगाथालाई कलात्मक रुपमा उतारिएको छ ।

कार्यक्रममा सञ्चारकर्मी बानियाँले ९० को दशकदेखि अहिलेसम्म वैदेशिक रोजगारीमा जानेक्रममा सबै नेपालीले भोगेको साझा पीडाको प्रतिनिधित्व ‘श्रमाटन’ आएको जनाए । उनले यस्तो प्रतिनिधिमूलक पुस्तकलाई लामो समयसम्म प्रकाशकहरुले होडबाजीमा अलमलमा राखेर अन्तिममा सांग्रिलाले बजारमा ल्याएकोप्रति गर्व गरे ।

यसैगरी समीक्षक तथा निबन्धकार लामाले रोजगारीको क्रममा पीडा भोगेका भुइँमान्छेको यथार्थलाई पुस्तकले प्रतिनिधित्व गरेको विचार व्यक्त गरिन् । यसैगरी सांग्रिला प्रकाशनका मणि शर्माले यसरी वृतान्तसहितको पुस्तक व्यापक नआएको बेलामा जोशीको ‘श्रमाटन’ प्रकाशन गर्न पाउँदा आभार प्रकट गरे । लेखक जोशीका यसअघि निरर्थक (२०६१) र मोडर्न बेली (२०७३) गरी दुई पुस्तक प्रकाशित छन् । साविक छाङ गाविस मनोहरी हाल म्याग्दे गाउँपालिका तनहुँ निवासी जोशीले २ सय १४ पृष्ठ पुस्तकलाई दुई खण्डमा बाँडेका छन् ।

प्रतिक्रिया