भारतमाथी जितसँगै अष्ट्रेलियालाई उपाधि

सिड्नी । स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५१ रनले पराजित गरेको छ । जितसँगै अस्ट्रेलियाले तीन खेलको अन्तर्राष्ट्रिय शृंखला हात पारेको छ ।  पहिलो खेल ६६ रनले जितेको अस्ट्रेलिया श्रृंखलामा २–० ले अगाडि रहेको छ । स्मिथले १०४ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३८९ रन बनाएको थियो । पूर्वकप्तान स्मिथले ६४ बलमा १४ चौका र दुई छक्कासहित १०४ रन बनाए । स्मिथले पहिलो खेलमा १०५ रन बनाएका थिए ।

स्मिथबाहेक अस्ट्रेलियाका लागि ओपनर डेबिड वार्नरले ८३, मार्नुस लाबुसेनले ७० र कप्तान एरोन फिन्चले ६० रन बनाउँदा ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे । वार्नर र फिन्चले पहिलो विकेटका लागि १४२ रनको साझेदारी गरे । ओपनरद्वय वार्नर र फिन्चले पहिलो खेलमा पनि पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेका थिए । फिन्चले पहिलो खेलमा ११४ र वार्नरले ६९ रन बनाएका थिए ।

भारतका मोहम्मद सामी, जसप्रित बुमराह र हार्दिक पाण्डेयले एक–एक विकेट लिए । ३९० रनको विशाल लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३३८ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले ८९, केएल राहुलले ७६, श्रेयस ऐयरले ३८, शिखर धवनले ३० तथा मयांक अग्रवाल र हार्दिक पाण्डेयले समान २८ रन बनाउँदा रविन्द्र जडेजा २४ रन बनाउदै आउट भए ।

अस्ट्रेलियाका पाट कुमिन्सले तीन विकेट लिँदा जोस हाज्लेउड र एडम जम्पाले दुई–दुई विकेट लिए । मोसिस हेनरिक्स र म्याक्सवेलको नाममा एक एक विकेट रह्यो । अन्तिम खेल बुधबार क्यानबेरामा हुने छ ।

प्रतिक्रिया