हुलाकी सडक निर्माण सुरु गर्न माग

सर्लाही । जिल्लाको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने स्थानीयवासीले चेतावनी दिएका छन् । ठेकेदारले लापरबाही गरेका कारण लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र पुनः सञ्चालन नगरे जिल्लाका राजनीतिक दल र स्थानीयवासी आन्दोलनमा उत्रने भएका हुन् ।

शनिबार सर्लाही सदरमुकाम मलंगवामा बसेको सर्वदलीय बैठकले २१ मंसिरसम्म सडक निर्माणको काम अघि नबढे संघर्षमा उत्रने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए । सघीय सरकारबाट एक हप्तासम्म सडकको निर्माण कार्य अघि बढाउन पहल नभए २१ मंसिरदेखि आन्दोलनमा उत्रने बैठकले निर्णय गरेको सभापति चौधरीको भनाइ छ ।

बैठकले अहिलेका ठेकेदारमार्फत सडक निर्माणको काम पूरा हुन नसक्ने भन्दै नयाँ ठेकेदारमार्फत काम अघि बढाउन पनि माग गरे । मलंगवादेखि पूर्वतर्फ संग्रामपुरसम्म, मलंगवादेखि पश्चिम रोहुवासम्म र त्यहाँदेखि बलरासम्म तीन खण्डमा गरी सडकको ठेक्का लागे पनि ठेकेदारले केही समय अघि माटो भर्नेलगायत सामान्य काम गरे पनि अन्य काम अघि बढाएको छैन ।

‘क’ वर्गको ठेकदार भए पनि आफूसँग आवश्यक मेसिनरी साधन, अन्य आवश्यक सामग्री नरहेको कारण पनि निर्माण कार्य ढिलो भएको भन्दै उनै ठेकदारबाट यो सडक निर्माणको काम सम्भव नरहेको सभापति चौधरीले बताए । हुलाकी सडक छेउछाउको बसाइँ र यात्रा अत्यन्त कष्टकर बनिरहेको स्थानीय बासिन्दाले गुनासो गरिरहेका छन् ।

सडक नबन्दा धुलोले जनजीवन निकै आक्रान्त भएको भन्दै बैठकमा सहभागी सांसद, स्थानीय निकायका प्रमुख र नागरिक समाजका अगुवा नियमनकारी निकायका प्रतिनिधि, सडक कार्यालय र ठेकेदारका प्रतिनिधिसँग आक्रोशित भएका थिए । छलफलमा नेपाल–भारत सीमा नाका खुलाउन निरन्तर पहल र संघर्ष गरिरहने निर्णयसमेत भएको छ । बैठकमा संघीय सांसद महेन्द्र राय यादव र डा. अमरेशकुमार सिंह, प्रदेशसभा सदस्य अशोककुमार यादव, उपेन्द्र महतो, गौरीनारायण साह, हुलाकी सडकमा पर्ने विभिन्न पालिकाका प्रमुख, प्रमुख राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, हुलाकी सडक हेर्ने चन्द्रनिगाहपुर र जनकपुरका प्रमुख, ठेकेदारका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया