मानव सेवा आश्रमद्वारा पाँच सय ८२ जना सहयोगापेक्षीको उद्धार

चितवन । मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त शहर बनाउने उद्देश्यका साथ स्थापना गरिएको संस्थाले सो अवधिमा १६७ जनालाई परिवारसँग पुनर्मिलन गराएको जनाएको छ ।

संस्थाले आज आयोजना गरेको आव २०७६–०७७ को प्रगति प्रतिवेदन, लेखा परीक्षण र सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा आश्रममा रहेका २१७ जनाले स्वेच्छिक आश्रम छाडेको, ६६ जना स्थानान्तरण गरिएको र ५५ जना आश्रित रहेका जनाएको छ ।

आश्रममा बसोबास गरेको समयमा ८० जनाको मृत्यु भएको आश्रमका संयोजक निता केसीले जानकारी दिइन् । केसीका अनुसार विसं २०७६ कात्तिक ९ गते भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणापश्चात् २४५ जनाको उद्धार गरिएको छ ।

जसमध्ये ७७ जनालाई परिवारसँग पुनर्मिलन गराइएको, ७९ जनाले स्वेच्छिक आश्रम छाडेको, १५ जनालाई स्थानान्तरण गरिएको र १०८ जना आश्रित रहेका छन् । सो समयमा ल्याइएकामध्ये १८ जनाको मृत्यु भएको केसीले जानकारी दिइन् ।

आश्रमको सक्रियतामा दाताबाट भरतपुर महानगरपालिका– ३ बेलचोकमा प्राप्त जग्गामा सहयोगापेक्षी पुरुषका लागि नारायण भवन निर्माणको काम भइरहेको छ ।

जसका लागि रु ५० लाख वाग्मती प्रदेश सरकारबाट विनियोजन भएको र महिला राख्नका लागि लक्ष्मी भवन निर्माणका लागि महानगरसँग बजेटको माग गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

आश्रमले विभिन्न निकायबाट प्राप्त गरेको सहयोग र खर्चको विवरणसमेत सो अवसरमा सार्वजनिक गरेको छ । खर्च विवरण सार्वजनिक गर्दै आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले आव २०७६–०७७ मा रु ८६ लाख ९१ हजार ७५० विभिन्न निकायबाट प्राप्त भएकामध्ये रु सात लाख ७७ हजार ५९८ मौज्दात रहेको जानकारी दिए ।

आश्रमकी अभिभावक प्रेमप्रभा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, समाजसेवी प्रेम श्रेष्ठलगायतले बोलेका थिए ।

प्रतिक्रिया