राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न छलफल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलबीच विकास निर्माणका विषयमा द्विपक्षीय छलफल भएको छ । प्रदेशभित्र भएका राष्ट्रिय गौरवका आयोजना लगायत विभिन्न विकासका पूर्वाधारका निर्धारित समयभित्र सम्पन्न कसरी गर्न उहाँहरु बीचमा छलफल भएको जनाइएको छ ।

मुख्यमन्त्री निवासमा आज सम्पन्न छलफलमा वाग्मती प्रदेशका विकट क्षेत्रलाई सुगम बनाउन तथा सङ्घीय सरकार र प्रदेश सरकारबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ । सो अवसरमा मुख्यमन्त्री पौडेलले मदन भण्डारी मार्गमा निर्माण गरिने सुरुङमार्गलाई समयमै सम्पन्न गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने खालका योजनालाई सङ्घीय सरकारसँगको सहकार्यमा पूरा गर्न चाहेको बताए । उपाध्यक्ष डा कँडेलले योजना सम्पन्न गर्न तीनै तहका सरकारको इच्छाशक्ति र लगन आवश्यकपर्ने बताए ।– रासस

प्रतिक्रिया