विद्यापति पुरस्कार सार्वजनिक

जनकपुरधाम । मैथिल कला, संस्कृति, सभ्यता, भाषा र साहित्यको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएको संस्था तथा विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरिएको छ । सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा पाँच विधामा वर्षेनी प्रदान गर्दै आएको यस वर्षको दुई लाख राशिको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराज (सप्तरी) लाई प्रदान गरिने भएको छ । परिषद्ले मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदान क्रियायाशीलताका लागि सो पुरस्कार दिइने निर्णय गरिएको हो । कोषले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै एक लाख राशि भएको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार धनुषा जिल्लाका वुषेशचन्द्र लाललाई दिने निर्णय गरेको जनाएको छ । उनलाई बिपी कोइरालाको मोदियाइन र सुम्निमा कृतिको मैथिली भाषामा अनुवादका लागि सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

धनुषाका सुजितकुमार झालाई ‘पुनि पुनि होत विवाह’ नामक अनुसन्धानमूलक कृतिका लागि नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार, सप्तरीका अमरेन्दकुमार यादवलाई ‘स्त्री आ आगि’ नामक कृतिका लागि नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो पुरस्कारको राशि जनही एक लाख रहेको छ । त्यस्तै, धनुषाका अजितकुमार साह र सप्तरीका सुनिताकुमारी साहलाई नेपाल विद्यापति कला संस्कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशि जनही ५० हजार रहेको छ । सदस्य सचिव नवीन मिश्रका अनुसार पाँचै विद्याका पुरस्कारको वितरण चालू आर्थिक वर्षभित्र गरिने जानकारी दिए ।

यसैबीच, मुख्यमन्त्री लालबाबु राउतले मिथिलाका कवि कोकिल विद्यापतिको स्मृति दिवसको अवसर पारेर देश तथा विदेशमा बसेका मैथिली समुदायप्रति शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा शनिबार जारी गरिएको विज्ञप्तिमा १४औँ शताब्दीको कार्तिक त्रयोदशी तिथिमा जन्मिएका कवि विद्यापतिले लेखेका प्रेम विरह र भक्तिरसका गीतहरू अहिले पनि मैथिल समुदायलाई आह्लादित गर्दछ भनि उल्लेख गरिएको छ ।

उनको प्रभाव बंगाली, उडिया र नेवारी समाजमा पनि प्रभाव परेको उल्लेख गर्दै सो विज्ञप्तिमा विद्यापतिले लेखेका गौंरक्षक, विजय नाटक, भूपरिक्रमा, पुरुष परीक्षा कीर्तिलताजस्ता गद्य ग्रन्थ अहिले पनि आदरका साथ पढिने गरेको उल्लेख छ । विद्यापतिको लिखनावलीको प्रभाव नेपाली लिखतमा समेत हेर्न सकिन्छ । उनले आफ्नो जीवनको उत्तरार्धकाल नेपालमा बिताएका र सो अवधिमा अनेकौँ पुस्तकको रचना गरेका थिए । उनी भविष्यवेता पनि रहेका थियो । विद्यापतिले आफ्नो मृत्युको सम्बन्धमा गरिएको भविष्यवाणी पुस्तकमा यसरी बर्णन गरिएको छ, ‘विद्यापतिको अवसान, कात्तिक धवल त्रयोदशी जान ।’ अर्थात् कात्तिक त्रयोदशी तिथिमा मृत्यु हुने गरेको भविष्यवाणी सत्य भएको थियो ।

प्रतिक्रिया