सीपमूलक तालिमलाई एकरूपता दिइने

विराटनगर । प्रदेश–१ का तीन वटा मन्त्रालयले सञ्चालन गर्ने सीपमूलक तालिमलाई एकरूपता दिइने भएको छ । सीपमूलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरूपता दिनेगरी मन्त्रालयबीच छलफल सुरु भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा शुक्रबार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयवीच छलफल भएको हो ।

प्रदेशस्तरमा उद्यमशीलतासम्बन्धी तालिम सञ्चालन गर्दा दोहोरोपना आउने गरेकाले त्यसलाई हटाउने गरी तीन वटा मन्त्रालयबीचमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाका शाखा अधिकृत प्रदीप गौतमले बताए । उनका अनुसार चालु आव ०७७/७८ मा तीन वटै मन्त्रालय, संघको ससर्त र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले तालिमका लागि करिब ३० करोड बजेट विनियोजन गरेको छ । गौतमले भने, ‘कोरोना संक्रमणका कारण सबै तालिम सञ्चालन गर्न नसकिने र सञ्चालित तालिममा पनि दोहोरोपना हटाउन र पारदर्शिताका लागि छलफल सुरु गरिएको हो ।’ छलफलले सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा तीन वटै मन्त्रालयको महाशाखा प्रमुख सदस्य रहने गरी कार्यदल गठन गरेको छ । कार्यदललाई तालिम सञ्चालनको खाका तयार गर्ने जिम्मेवारी दिइएको छ ।

कार्यदलको सुझावअनुसार नीतिगत रूपमा कार्यक्रम सञ्चालनको मार्गदर्शन तयार गरिएको श्रम तथा रोजगार शाखाका अधिकृत गौतमले बताए । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर, भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया