फिदिमका सवै सडक कालोपत्रे हुने !

पाँचथर । जिल्लाको नमुना शहर फिदिम नगरपालिका भित्रका ठुला तथा साना सडक कालोपत्रे हुने भएका छन । फिदिम बजारका मेची राजमार्गलाई चौडा बनाउन तथा शाखा सडकहरुका लागी बजेट छुट्याइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङका अनुसार मेची राजमार्ग फिदिम–१ स्थित समर्पित अस्पतालबाट १.७ किलोमिटर सडक विस्तार हुनेछ ।

फिदिम नगरपालिका सहित स्थानीय सरोकारवालाहरु सँगको छलफलबाट विस्तारित सडक १६ मिटर चौडा हुने मन्त्री नेम्वाङले बताए । फिदिम बजार क्षेत्रमा मेची राजमार्ग चौडा गर्नका लागि अर्थ मन्त्रालयबाट रु. १४ करोड रकम स्वीकृत भइसकेको मन्त्री नेम्वाङले जानकारी दिए । उनले भने, ‘बजेट सुनिश्चित भएकाले केही दिनमै सडक विस्तारका लागि बोलपत्र आव्हान हुन्छ ।’ सरकारले मेची राजमार्गको चारआली–फिदिम सडक खण्ड विस्तार गर्ने कार्यक्रम अन्तर्गत मुख्य बजारहरुमा सडक चौडा गर्न थालेको मन्त्री नेम्वाङको भनाइ छ ।

फिदिम बजार क्षेत्रमा मेची राजमार्ग चौडा गर्ने विषय यसअघि पटक–पटक चर्चामा आए पनि काम सुरुआत हुन सकेको थिएन् । सडकको दायाँ–बायाँ १५–१५ मिटर चौडा गर्ने वा ७–७ मिटर चौडा गर्ने भन्ने विषयमा स्थानीय तथा व्यावसायीहरुको फरक–फरक मत भएकोले विस्तार कार्यले गति लिन सकेको थिएन ।

यसअघि सडक डिभिजन कार्यालय इलामले सूचना जारी गर्दै सडकको दायाँ–बायाँ सडक क्षेत्राधिकार अन्तर्गत १५–१५ मिटर सडक चौडा गर्न सूचना समेत जारी गरेको थियो । डिभिजनले १६ मिटर चौडा सडक निर्माणका लागि धमाधम मार्किङ गरिरहेको छ ।

यस्तै फिदिमको ठाडोलाइन सहित अन्य शाखा सडकहरुको कालोपत्रेको कार्य समेत द्रूत गतिमा अघि बढाइने भएको छ । ठाडोलाइनको कालोपत्रेका लागि निर्माण कार्य सुरुआत भइसकेको छ । अन्य शाखा सडकहरुको कालोपत्रेका लागि समेत बजेट सुनिश्चित गरी निर्माण कार्य तत्कालै अघि बढाउन आफू प्रयत्नरत रहने मन्त्री नेम्वाङले वताए ।

सडक तथा अन्य पूर्वाधारहरु समयमा नसक्ने ठेकेदारलाइ कालोसुचिमा राख्ने पक्का भइसकेको मन्त्री नेम्वाङले जनाए । सडक किनाराका बजारका साना तथा ठुला उद्योगी व्यवसासयीहरु पसल हटान आनाकानी गरिरहेको अवस्था छ ।

प्रतिक्रिया