नेप्सेमा नयाँ रेकर्ड कायम

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसचुकले अहिले सम्मकै नयाँ रेकर्ड कायम गरेकोछ । बिहीबार परिसूचक १८ दशमलव ४३ अंक अर्थात शुन्य दशमलव ९८ प्रतिशतले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको हो ।  यसअघि नेप्से २०७३ साउनमा अहिलेसम्मकै उच्च अंक १ हजार ८ सय ८१ दशमलव ४५ अंकमा पुगेको थियो । यसअघिको उच्च बिन्दुभन्दा ११ दशमलव ७९ अंक माथि पुगेको छ । नेप्समा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य प्रतिनिधित्व गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ८५ अंक अर्थात शुन्य दशमलव ७९ प्रतिशतले बढेर ३ सय ६५ दशमलव १८ अंकमा पुगेको छ । पछिल्लो समय सेयर बजारमा उछाल आउने क्रम सुरु भएसँगै नेप्सेमा दैनिक कारोबार रकम पनि बढेको छ । बिहीबार नेप्सेमा २०१ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख ९१ रुपैँया मूल्य बराबरका एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर ७० हजार ३ ओटा कारोबार मार्फत किनबेच भएका छन् ।

लकडाउनपछि सेयर बजार खुल्दा बजारमा क्रमशः उछाल देखिन शुरु भएको हो । कोभिड–१९ का कारण लगानीका अन्य क्षेत्र खुम्चिएको र मौद्रिक नीतिले शेयर धितो कर्जा केही खुकुलो बनाएपछि बजार सुदृढ गतिमा अघि बढेको हो । यसअघि नेप्से परिसूचक २०५२, २०५७, २०६५, २०७३ मा बुलिस ट्रेन्डको उच्चतम अंकमा पुगेको देखिन्छ । २०५२ मा उच्चतम अंकमा पुगेर सुरु भएको वियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म २०६५ को २०६८ सम्म चलेको थियो । २०७३ को साउनमा शेयर बजार स्याचुरेसनमा पुगेपछि शुरु भएको वियरिस ट्रेण्ड समाप्त हुन पनि झण्डै तीन वर्ष नै लागेको थियो ।

२०६५ भदौ १५ मा उच्चतम अंक १ हजार १ सय ७५ मा रहेको नेप्से परिसूचक २०६८ असार ६ मा २ सय ९२ बिन्दूमा आएर रोकिएको थियो । अघिल्लो वियरिस ट्रेन्डसँगै शेयर बजार क्रयास भएपछि यसलाई पुर्नजिवन प्रदान गर्न तत्कालीन सरकारले ठूलै पहल गरेको थियो । सेयरको यसअघिको प्रवृत्ति हेर्दा पनि वियरिस ट्रेन्ड समाप्त भएसँगै बजार केही समय स्थिर भएपछि मात्र बुलिस ट्रेन्डतर्फ अघि बढ्छ । यसमा लगानीकर्ताको मनोभावना जोडिएको हुन्छ । बजार वियरिस ट्रेन्डमा जाँदा सामान्यतः साना मझौला लगानीकर्ताले गुमाउँछन् र उनीहरु विश्वस्त भएर बजारमा पस्न समय लाग्छ । यसले गर्दा केही समय वियरिस ट्रेन्ड स्थिर हुन्छ । बजारले बुलिस ट्रेण्ड पक्रेपछि भने छोटो अवधिका लागि सामान्य करेक्सन बाहेक बजार अघि बढ्छ ।

२०७२ भदौको पहिलो साता १ हजार २ सय अंकको आसपासमा आएर बुलिस ट्रेन्डको उच्चतम बिन्दूमा रहेको नेप्से केन्द्रीय बैंकले तत्कालीन समयमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने निर्णयसँगै पुनः बुलिश ट्रेण्ड पक्रिएको थियो । २०७२ भदौ देखि २०७३ साउनको बीचमा सेयर बजारमा बैंक तथा वित्तिय संस्थाको पुँजी वृद्धिले २०७३ साउनमा नेप्से परिसूचक अहिलेसम्मकै उच्च १ हजार ८ सय ८१ दशलमव ४५ अंकमा पुगेको थियो । बजार घट्ने क्रममा पनि न्यूनतम अंक १ हजार १ सय ०० अंकको आसपासमा रहेको थियो । लगानीका अन्य विकल्पहरु संकुचित भएपछि लगानीकर्ताहरु शेयर बजारमा केन्द्रीत भएपछि अहिलेको उछाल देखिएको विश्लेषकहरुले बताएका छन् । बैंकिग पसमूहको परिसूचक बढ्दा नेप्सेले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको हो ।

प्रतिक्रिया