एकै दिन तीन मोटरेबल पुल शिलान्यास

गण्डकी । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकामा तीन मोटरेवल पुल एकैसाथ शिलान्यास गरिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मादी–४ र ११ जोड्ने इदिखोलामाथिको पुल, वडा–११ र १० जोड्ने मकैखोला तथा वडा–९ र १० जोड्ने बार्दीखोलामाथिको मोटरेबल पुल शिलान्यास गरेका हुन् ।  मुख्यमन्त्री गुरुङले बुधबार शिलान्यास गर्दै अब बन्ने पुल मध्यपहाडी क्षेत्रको समृद्धि र विकासका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै निर्माणको गुणस्तरीयता कायम राखी निर्धारित समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्षको जागरुकता आवश्यक हुने बताए ।
ती पुलमध्ये इदीखोला र वार्दीखोलाका दुई पुल राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत पर्छन् । करीब १ हजार ७ सय किलोमिटर लम्बाइको लोकमार्गले मुलुकका ६ प्रदेशलाई जोड्छ । पहाडी क्षेत्रको कृषि उत्पादन, पर्यटन प्रवद्र्धन, जलविद्युत् उत्पादनमा समेत ती पुल सहयोगी बन्नेछन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा १ सय ५० भन्दा बढी मोटरेबल पुल निर्माण भइरहेको जनाइएको छ ।

‘लोकमार्ग सामाजिक, सांस्कृतिक भावना जगाउँदै राष्ट्रिय एवं भौगोगिक एकतालाई समेत कायम गर्ने एउटा आधार बन्छ’, मुख्यमन्त्री गुरुङले भने, ‘यसको निर्माणमा स्थानीय बासिन्दासहित तीनै तहका सरकार कटिबद्ध भएर लाग्नुको विकल्प छैन ।’ भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यक्रमद्वारा एक वर्षभित्र निर्माण सम्पन्न गरिने पुलमध्ये वार्दीखोला मोटरेबल पुलको ४ करोड ५२ लाख ७२ हजार ४ सय ५४, इदीखोला पुलको ४ करोड ४२ लाख १७ हजार ६३ र मकैखोला मोटरेबल पुलको २ करोड ३२ लाख ६९ हजार ३ सय ५२ को लागत अनुमान छ ।

सो अवसरमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समृद्धिको आधारका रूपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा स्थानीय बासिन्दाका साथै तीन तहका सरकारको सक्रियता औँल्याउँदै वीर पुर्खाको गौरवशाली योगदानलाई उच्च मूल्यांकन गर्दै यस क्षेत्रमा पर्ने कोलासोथरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिनुपर्ने माग गरे । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विकासको मेरुदण्डका रूपमा रहेको सडक निर्माण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ग्रामीण क्षेत्रमा निर्माण गरिने सडक स्थानीय बासिन्दाको आयआर्जनसँग जोडिनुपर्ने बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले मादी करिडोर मध्यपहाडी लोकमार्गमा परिणत भएको बताए । प्रदेशसभा सदस्य मनबहादुर गुरुङले मादी गाउँपालिकालाई जोड्ने विभिन्न स्थानमा दुई पुल निर्माण सम्पन्न भएको र सात पुल निर्माणाधीन रहेको जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग कास्की, पर्वत र बागलुङ खण्ड आयोजना प्रमुख मेघराज मरासिनीले इदीखोला र वार्दीखोलामा निर्माण गरिने मोटरेबल पुल लोकमार्गको मापदण्डमा रहेको बताउँदै यस क्षेत्रअन्तर्गतको ७५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । सो क्षेत्रअन्तर्गतको रुदी–भैँसे खण्डको १६ किलोमिटर सडकखण्डको ठेक्का अन्तिम चारणमा पुगेको छ । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले मध्यपहाडी लोकमार्ग गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिने हुँदा मोटरेबल पुलले क्षेत्रको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरे । भौतिक पूर्वाधार मन्त्रालयका दिनेश घिमिरे, मादी–१० का वडाध्यक्ष कुलप्रसाद गुरुङलगायतले पुल निर्माणसँगै यस क्षेत्रको समग्र विकाससँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया