पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली भई प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पश्चिमी वायुको प्रभाव आज बेलुकादेखि विस्तारै कमजोर हुँदै जाने मौसमविद् समिर श्रेष्ठले बताए ।

‘शुक्रबारदेखि मौसम सुधार हुन्छ’, श्रेष्ठले भने, ‘तत्काललाई वर्षाको सम्भावना छैन ।’ हाल वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशभर अपराह्न आंशिकदेखि सामान्य बदली भई गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया