चलचित्र क्षेत्र खोल्न आग्रह

काठमाडौं । कोरोनाका कारण ठप्प रहेको चलचित्र क्षेत्र खुल्ला गर्न सरकारसँग चलचित्रकर्मीले आग्रह गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका हुन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीपछि बन्द रहेका अधिकांश क्षेत्र खुले पनि चलचित्र क्षेत्रलाई सरकारले खोल्ने कुनै सुरसार नै नगरेको बताए ।

चलचित्र छायांकन तथा यससँग सम्बन्धित अन्य काम पनि प्रभावित भएको र हजारौंको संख्यामा रहेका कलाकारको जीविकोपार्जनमा समस्या देखिएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र खोल्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् । उनले भने, ‘सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसके पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटिएको तर अहिलेसम्म कुनै पनि फाइदा लिन सकिएको छैन ।’ उनले चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, स्रष्टालाई समस्या भइरहेको जानकारी अर्थ मन्त्रालयमा गराएको सुनाए । उनले भने, ‘साँच्चै भन्ने हो भने हामीलाई बजेटले पनि समेटेन अति प्रभावितमा । तर राष्ट्र बैंकले चलचित्र क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा समेटिदियो । तर त्यसको अहिलेसम्म के फाइदा हो भन्ने कुरा आएको छैन ।’

अधिकारीले सरकारले जनस्वास्थ्य मापदण्ड पूरा गरी चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिपर्ने धारणा राखे । उनले भने, ‘गीत संगीत स्रष्टा, कलाकार तथा प्राविधिक यी सबैको समस्या छ । यसकारणले कुनै न कुनै बाटो चाहियो भनेर हामीले धेरै ठाउँमा कुरा राखेका छौँ । हाम्रो भनाइ अब हामीलाई छायांकन खोलिदिनुस् । हामी विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र सिसिएमसीको मापदण्डलाई अपनाएर सिनेमा छायांकनमा जान सक्छौँ । यसमा हामीले बुँदागत यो यो गर्न सक्छौँ र यो क्षेत्रलाई सुरक्षित राख्न सक्छौं भनेर हामीले प्रस्तुत गरिसकेका छौँ ।’

चलचित्र क्षेत्रले मनोरञ्जन उद्योगमात्रै नभएर कला र संस्कृतिको एक अभिन्न अंग भएको बताउँदै अध्यक्ष अधिकारी भेषभूषा र पर्यटनलाई समेत यसले समेटेको भएको भन्दै तत्काल खोल्न माग सरकारसँग गरेका छन् । उनले आफू नेपाल उद्योग वाणिज्य महासंघमा रहेर पनि चलचित्र उद्योगको समस्या समाधानमा लाग्न खोजिरहेको सुनाए ।

उनले यसअघि महासंघमा रहेर सरकार, निजी क्षेत्र र चलचित्र क्षेत्रभित्र रहेको दुरीलाई मेटाएको जिकिर गरे । उनले चलचित्र क्षेत्रलाई सेवामुलक उद्योगको रुपमा स्थापित गर्न सफल भएको बताउँदै भने, ‘मलाई चलचित्र क्षेत्र, चलचित्र निर्माता संघका साथीहरु र त्यसको साथसाथै चलचित्र समन्वय समिति र उद्योग वाणिज्य महासंघको विशेष सहयोगले नै राष्ट्रिय मान्यता उद्योगमा हाल्न सफल भयौँ ।’ उनले चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोडने काम गर्नका लागि आफूले उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदेवारी दिएको जानकारी दिए । अध्यक्ष अधिकारीले महासंघको ५४औं साधारणसभामा वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए । उनले भने, ‘चलचित्र क्षेत्रको नीति नियम, ऐन कानुन निर्माणमा सरकारलाई सहयोग गर्ने र यसलाई अब भने राज्यका प्राथमिकता प्राप्त क्षेत्रले पाउँदै आएको सुविधा पाउने अवस्थामा पु¥याउन मैले महासंघमा बसेर काम गर्न चाहेको छु ।’

प्रतिक्रिया