उर्जा बचत गर्ने तीन उद्योगलाई रावा बैकको अनुदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गर्ने तीन उद्योगलाई अनुदान रकम दिएको छ । इनर्जी इफिसियन्सी प्रोगाम नेपाल अन्तर्गत जर्मन सरकारले यो अनुदान दिएको हो । बैंकले प्रिमियर अर्गानिक्सलाई ५३ लाख ५१ हजार पाँच सय चौरासी रुपैयाँ, हुलास स्टील इन्डस्ट्रिजलाई ३३ लाख १५ हजार छ सय रुपैयाँ, प्रिमियर स्टिललाई १७ लाख आठ हजार चार सय छपन्न रुपैयाँ दिएको हो ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेका कारण यी उद्योगले अनुदान पाएका हुन । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गर्न आग्रह गरे । नेपाल सरकार र जर्मन सरकारबीच सन २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले यो कार्यक्रममा सहभागी भएको थियो ।

आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम एक करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया