३ खर्ब ६२ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको कात्र्तिक मसान्त सम्ममा नेपालको वैदेशिक व्यापारमा ३ खर्ब ६२ अर्ब रूपैयाँ घाटा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्ममा नेपाललाई उक्त रकम बराबरको व्यापार घाटा भएको हो । तर चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो अवधिमा निर्यातको आकडा भने मात्र ४० अर्ब रुपैयाँ रहेको छ ।

साउन देखी कात्तिकसम्म अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा आयातमा केही गिरावट देखिएको छ । निर्यातमा भने सामान्य वृद्धि भएको छ । विभागका अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यद्यपि, वैदेशिक व्यापारमा नेपालले बेहोरेको घाटामा निरन्तर सुधार हुँदै आएको विभागले जानकारी दिएको छ । यो वर्षको पहिलो चौमासिकमा गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५२ अर्ब रूपैयाँ न्यून भएको देखिएको छ । यो नेपालको व्यापार घाटामा १२ दशमलव ४९ प्रतिशतको सुधार हो ।

विभागको तथ्यांकअनुसार चार महिनामा नेपालको निर्यात १० दशलमव ८१ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालबाट ४० अर्ब २० करोड रूपैयाँको निर्यात भएको छ । गत वर्षको कात्तिक सम्ममा ३६ अर्ब २७ करोड रूपैयाँको निर्यात भएको थियो । चालु आवको पहिलो चार महिनामा नेपालबाट भटमासको प्रशोधित तेल र चियाको निकासी धेरै मात्रामा भएको तथ्यांक छ । जसले नेपालको निर्यात सूचकांक सुधार्न सहयोग गरिरहेको विभागको भनाइ छ ।

चालु आवको पहिलो महिनादेखि नै ओरालो लागेको आयात चार महिनासम्म पनि कायम छ । यस अवधिसम्म आइपुग्दा नेपालले गत वर्षको भन्दा १० दशमलव ६२ प्रतिशत न्यून सामान आयात गरेको छ । यस अवधिमा नेपालमा चार खर्ब दुई अर्ब रूपैयाँ बराबरको सामान भित्रिएको छ। अघिल्लो वर्ष चार खर्ब ५० अर्ब रूपैयाँको सामान भित्रिएको थियो । महामारीले पेट्रोलियम पदार्थदेखि अधिकांश वस्तुको आयात घट्दा समग्र आयात नै घटेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया