रोनाल्डो चम्कँदा युभेन्टस विजयी

लण्डन । फरवार्ड क्रिस्टियानो रोनाल्डोले ४ मिनेटको अन्तरमा दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत शनिबार काग्लियारीलाई पराजित गरेको छ । युभेन्टसले घरेलु मैदानमा २–० को जित दर्ता गर्दा दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको ३७ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । अल्भारो मोराटाले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै रोनाल्डोले दुई डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए ।

त्यसअघि फेडेरिको बर्नार्डेस्कीले गोल गरेपनि असिस्ट दिएका मोराटा अफसाइड देखिएपछि रेफ्रीले गोललाई मान्यता दिएनन् । बर्नार्डेस्कीकै पेनाल्टी क्षेत्रबाहिरको प्रहारलाई काग्लियारीका गोलरक्षक क्राग्नोले विफल पारेका थिए । त्यसको ४ मिनेटपछि नै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर पारे । जुआन क्वाडराडोको कर्नरलाई मेरिह डेमीरालले हेडर गरेपछि आएको बललाई फार पोस्टमा अनमार्क रहेका रोनाल्डोले गोलमा परिणत गरे । दोस्रो हाफमा दुवै टोलीले आक्रमणको प्रयास गरेपनि गोल निस्कन सकेन ।

यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले ८ खेलमा १६ अंक जोडेको छ । शीर्ष स्थानको एसी मिलानले ७ खेलमा १७ अंक बनाएको छ । पराजित कग्लियारी भने ८ खेलमा १० अंक जोड्दै ११ औं स्थानमा छ ।

प्रतिक्रिया