सामाजिक सुरक्षा कोष कार्यविधि संशोधनको तयारी

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा कोष नियमावली संशोधन गर्ने तयारी गरेको छ । त्यसका लागि कोष सञ्चालक समिति सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा कार्यकारी निर्देशक, कानून मन्त्रालय, ट्रेड युनियन तथा रोजगारदाताको प्रतिनिधित्व रहेको उपसमिति गठन गरी योजना परिमार्जनको तयारी थालिएको हो । समितिले गरेका प्रस्ताव अनुसार अब योगदानकर्ताहरुले आफुले कोषमा जम्मा गरेको रकम फिर्ता पाउन सक्नेछन् । कोषका प्रवत्ता विवेक पन्थीका अनुसार योगदानकर्ताले आफुले योगदान गरको रकमको व्याजसहित रकम फिर्ता पाउन सक्ने प्रस्तावलाई अघि बढाइएको छ ।

उपसमितिले रोजगारदाता र श्रमिकको कुल ३१ प्रतिशत योगदानमध्ये वृद्धअवस्था सुरक्षा योजना अन्तर्गतको २८ दशलमव ३३ प्रतिशत रकमलाई २० प्रतिशतबाट पेन्सन र बाँकी ८ दशमलब ३३ प्रतिशतबाट अवकाश सुविधा दिने प्रस्ताव तयार पारेको छ । यसबाट ६० वर्ष उमेर नपुगेका योगदानकर्ताले रोजगारीमा संलग्न नभएको अवस्थामा ८ दशलमव ३३ प्रतिशतबाट उपदान र अवकाश सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रस्तावमा योगदानकर्तालाई बीचैमा रकम आवश्यक परेको खण्डमा सापटीका रुपमा झिक्न पाउने र रोजगारीबाट अलग भए पनि सो रकम झिक्न पाइने बिषयलाई समावेश गरिएको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाबाट योगदानकर्ताले सञ्चित रकममध्येबाट आवश्यकता परेको खण्डमा केही रकम झिक्न पाउने अभ्यास रही आएको छ ।

त्यस्तै औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा पनि सामान्य परिमार्जनको प्रस्ताव गरिएको छ । कोषमा योगदान गर्न शुरु भएको तीन महिना पछाडि देखि योगदान गर्न छाडेको तीन महिनासम्म यो योजना लागू हुने व्यवस्थालाई परिमार्जन गरी ६० वर्षपछि पेन्सन सुविधामा बसेको योगदानकर्तालाई ७० वर्षसम्म पनि औषधि उपचार स्वास्थ्य सुविधा दिन प्रस्ताव गरिएको छ ।

कार्यविधि संसोधन हुन उपसमितिले तयार गरेको प्रस्ताव कोष सञ्चालक समितिले अनुमोदन गरी स्वीकृतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउनु पर्छ । सो कुरा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भए पछि मात्रै लागु हुन्छ ।

प्रतिक्रिया