महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटिई) बाट अनुमति पाएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।

स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको सिटिइभिटिइले भीमदत्त नगरपालिकालाई चालु शैक्षिक सत्र ०७७÷७८ बाट कक्षा सञ्चालनका लागि अनुमति दिएको छ । नगरप्रमुख विष्टले कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए । नगरपालिकाका अनुसार प्रमाणपत्र तहका नर्सिङ, समान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियो डाइग्नोजिस्टक, अप्थाल्मिक साइन्स र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन हुनेछन् । ‘सात वटै विषयमा ४० का दरले २ सय ८० विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।’ उनले भने, ‘यसले यहाँको शैक्षिक विकासमा ठूलो फड्को मार्नेछ ।’

महेन्द्रनगरमा शनिबार शिक्षा विज्ञान तथा प्राविधिकमन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जीवन गौतमले प्राविधिक शिक्षालयका कक्षा सञ्चालनका लागि अनुमतिपत्र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट र महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका थिए । नगरका प्रमुख विष्टले आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता र समसापेक्ष शिक्षाको मागअनुरुप सिटिइभिटीईबाट सम्बन्धन प्राप्त शिक्षालय सञ्चालन हुने बताए । उनले भौतिक पूर्वाधार जनशक्तिको कामसमेत अघि बढाइने जानकारी दिए ।  सिटिइभिटिईको गत २६ कात्तिकमा बसेको परिषद्को बैठकले भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न बहुप्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया