नवलपरासीमा १५ वर्षीया किशोरी बलात्कार गर्ने दुई जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरी बलात्कार गर्ने नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

गत कात्तिक २७ गते रातिको समयमा ती किशोरी धारामा पानी लिन जाँदा बलात्कारमा परेको उनले बताए । पक्राउ परेका व्यक्तिले किशोरीको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगैंचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताइन् । किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच सुतिरहेकी महिलाको कोठामा प्रवेश गरी बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले सप्तरीको खडक नगरपालिकाका २८ वर्षीय मनिषकुमार चौधरीलाई आज पक्राउ गरेको छ ।

ढोकाको माथिको थोरै खुला ठाउँबाट पीडित सुतेको कोठाभित्र प्रवेश गरेका आरोपितले निन्द्रामा रहेका बेला बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् । गत कात्तिक २९ गते राति घटना भएको भन्दै कात्तिक ३० गते पीडितले उजुरी दिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीका अनुसार एक साताको आवश्यक अनुसन्धानपश्चात उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको छ । पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ ।

प्रतिक्रिया