अध्यक्ष दाहाललाई आफ्नो प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रह

काठमाडौं । विवाद चुलिएर फुटको संघारमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै सचिवालयमा प्रस्ताव पेश गरेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त प्रस्ताव फिर्ता लिन नेकपाकै महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन् ।

आज पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा महासचिव पौडेलले सो आग्रह गरेको स्रोतले जनाएको छ । महासचिव पौडेलको सो आग्रह पछि अध्यक्ष दाहालले त्यसबारे बिचार गर्दै जाने बताएको स्रोतको भनाइ छ ।

साथै, अध्यक्ष दाहालले अर्का नेता सुवासचन्द्र नेम्वाङसँग पनि यसै विषयमा छलफल गरेको बुझिएको छ । तीनै जना नेताबीच दाहालले सचिवालय बैठकमा राखेको प्रस्तावका बारेमा छलफल भएको बताइएको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई प्रचण्डले केही दिनअघि बसेको पार्टी सचिवालय बैठकमा १९ पेजको प्रस्ताव पेश गरेका थिए ।

पार्टी भित्रको विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न अध्यक्ष दाहालले महासचिव पौडेल र नेता नेम्वाङलाई पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका थिए । गत बुधबार पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए ।

प्रतिक्रिया