नेता केसीको स्वास्थ्य

कोरोना संक्रमणपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी एक साताको उपचारपछि घर फर्केका छन् । छोरीको घर रूपन्देहीमा रहेका बेला कोराना संक्रमण भएपछि उनलाई काठमाडौं ल्याएर ललितपुरको मेडासिटी अस्पतालमा भर्ना गरिएको थियो । उमेरले ८० वर्ष नाघिसकेका केसी दीर्घरोगी पनि हुन् । कोभिड–१९ सँगै उनलाई ज्वरो, निमोनिया, डायरिया लगायतका समस्या भएकोले मातृ पार्टी नेकपा मशालका महासचिव मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै चिन्ता प्रकट गरेका थिए । विशेष गरी राष्ट्रिय अखण्डताका सवालमा लिएका अडानका कारण केसी नेपाली जनताबीच लोकप्रिय छन् । साथै पटकपटक सत्तामा पुगेरसमेत स्वच्छ छवी कायम गर्न सफल निर्लोभी, जाँगरिला र भरपर्दा नेता हुन् केसी । यो आठ महिनाको अवधीमा मुलुकका धेरै नेताहरू कोभिड–१९ को आक्रमणमा परे । केहीको निधनसमेत भयो, तर जनताले खासै वास्ता गरेको देखिएन  राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी बिरामी परेको समाचारले भने ठूलो सनसनी मच्चायो । देशविदेश जहाँतहीँका नेपालीले चासो देखाए । स्वच्छ छवीकै कारण जनताको आत्मामा बस्न सकेका नेता रहेछन् उनी भन्ने पुष्टि भयो ।

पदीय हिसाबले भन्ने हो भने धेरै उचाइमा रहेका नेताहरूको संख्या मुलुकमा उल्लेख्य छ, तर चरित्रका हिसाबले नेपालका जीवित नेताहरूमध्ये केसीको स्थान धेरै माथि छ । इमानदारीका साथ राजनीति अघि बढाउनु चानचुने कुरा होइन रहेछ भन्ने कुरा केसीको स्वास्थ्य उपचारका क्रममा उत्पन्न भएको तरंगले पुष्टि गरेको छ । ०५६ साल यता उनी लगातार सांसद छन् । यस बीचमा मन्त्री तथा उपप्रधानमन्त्री पनि भए । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सभापतिसमेत भए । लेखा समितिको सदस्यहुनेहरूले समेत भ्रष्टाचारीस“ग सम्पर्क बढाएर ठूलो धनराशि जम्मा गरेका छन् । पटकपटक मन्त्री बन्नेहरूको त कुरै छाडौँ । तर, नेता केसीले बिरामी पर्दा उपचार गर्ने खर्चको जोहोसमेत गरेका रहेनछन् । उनले ठूलै आर्थिक संकट झेलिरहेका रहेछन् । बिरामी हुँदासमेत उपचारका लागि खर्च अभाव रहेछ । उपचार खर्च जुटाउनका लागि पार्टीले चन्दा आह्वान ग¥यो । यो विषयलाई लिएर पार्टीका नेता तथा उनका छोराहरूबीच भनाभन पनि भयो । जापानमा रहेका उनका छोराले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भने, ‘बुबाको स्वास्थ्य अवस्थाबारे पार्टीले निकालेको विज्ञप्तीलाई लिएर भ्रमित नहुन आग्रह गर्दछु, विज्ञप्तीमा उल्लेख भएजस्तो गम्भीर अवस्था होइन, साथै बुबाको उपचारका लागि खर्च बेहोर्न हामी आफैं सक्षम भएकोले चन्दाको कष्ट नगर्न पनि आग्रह गर्दछु ।’

यता कोभिड–१९ का बिरामीलाई सरकारले नै उपचार खर्च बेहोर्ने कुरा आइरहेका सन्दर्भमा यस्ता विवादहरू किन उत्पन्न भए ? भन्ने प्रश्न निकै पेचिलो छ । कोभिडका बिरामी बढ्दै गएपछि सरकारले उपचारको सुविधा झिकेको थियो, तर व्यापक विरोध भएपछि सरकारले निर्णय सच्याउँदै जसले सक्दैनन् उसको उपचार खर्च बेहोर्ने निर्णय सरकारले ग¥यो । तर, उपचार खर्च बेहोर्न सक्ने वा नसक्नेको वर्गीकरण ज्यादै झन्झटिलो रहेछ । जुन कुरा नेता केसीको हकमा पुष्टि भयो ।

उनको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ग¥यो । सरकारले यो निर्णय गरेसँगै उनको परिवार र पार्टीबीचको द्वन्द्व समाधान भयो । नेता केसीको हकमा सरकारले गरेको निर्णय स्वागतयोग्य छ, तर कोभिड–१९ को महामारीका सन्दर्भमा आफैं उपचार खर्च बेहोर्न सक्नेहरूको संख्या ज्यादै थोरै छ । किनकी यो यस्तो सरुवा रोग हो, जुन रोग परिवारको एक जना सदस्यलाई लागेपछि सबैलाई सर्छ । परिवारका सबै सदस्यलाई औषधि उपचार गर्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले सर्वसाधारणको बुताभित्र उपचार संभव छैन भन्ने कुरामा सरकार गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया