फिक्कलमा उद्धव उद्यान निर्माण

सिन्धुली । फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो । साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काको सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् ।

उपचारका क्रममा कार्यकालमा नै उनको निधन भएको थियो । गाउँपालिकाको रु १९ लाख ५० हजार र संघीय सांसद कोषको रु १४ लाख गरी कूल ३३ लाख ५० हजारमा उद्यान निर्माण गरिएको हो । उद्यानमा पोखरी, छतसहितको प्रतीक्षालय, मञ्च, चिनियाँ दुबोको बगैँचा तथा चौतारा छन् ।

गाउँपालिकामा आउने पर्यटकको लागि अवलोकनस्थल पनि निर्माण भएको छ । यसबाट राजनीतिमा लागेका व्यक्तिलाई असल काममा लाग्न प्रेरणा मिल्ने उनले बताइन् ।

विसं २०२८ वैशाख २८ गते जन्मिएका खड्काको २०५८ साल वैशाख ११ गते उपचारको क्रममा भारतको यम्स अस्पतालमा निधन भएको थियो । तत्कालीन गाविस अध्यक्ष खड्कालाई विकासप्रेमी र दूरदर्शी नेताका रुपमा स्थानीयवासीले चिन्ने गरेका छन् । विसं २०५४ मा निर्वाचित भएपछि खड्काले यस क्षेत्रमा मोटर बाटो र बिजुली बत्ती ल्याउने गरेको संकल्प आज पूरा भएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया