अमेरिकामा डोनाल्ड ट्रम्पका लाखौँ समर्थकको र्याली, दुई पक्षबीच झडप

एजेन्सी । अमेरिकी राष्ट्रपतिको चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएको र्यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडप भएको छ । वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना मानिसलाई छुरा हानिएको खबरहरू आएका छन् ।

सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार ट्रम्प समर्थक र्यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए । त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए। राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन् ।

निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भनि घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन् । ती मुद्दामा उनले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएका छन् । तर, प्रमाण पेश गरेका छैनन् । उनका प्रयासमा शुक्रबार मात्रै तीनवटा धक्का लागेका छन् ।

एरिजोना राज्यमा उनको समूहले निर्वाचनको दिन गरिएका मतदानमा मतपत्र पुनः हेरिनुपर्ने माग गर्दै दर्ता भएका मुद्दा फिर्ता लिएका छन् ।उनका प्रतिद्वन्द्वी बाइडनको स्पष्ट अग्रता देखिएपछि एरिजोनामा त्यस्तो मुद्दा हालिएको थियो ।

केही वैध मतहरू अस्वीकार गरिएको भन्ने दाबीका आधारमा त्यस्तो मुद्दा दायर गरिएको थियो । मिशिगनमा रिपब्लिकन तर्फका दुई पर्यवेक्षकले गरेको निवेदनलाई न्यायाधीशले अस्वीकार गरेका छन् । ती पर्यवेक्षकले वेन काउन्टीमा धाँधली भएको आरोप लगाएका थिए ।

पेन्सिल्भेनियामा ट्रम्पको अभियानले पत्रमार्फत आएका मतपत्रहरूलाई अमान्य गर्न गरिएका निवेदन पनि अस्वीकार गरिएको छ। जोर्जिआ राज्यमा भने दुई उम्मेदवारबीच झीनो मतान्तर रहेपछि त्यहाँ हातैले गनेर पुनः मतगणना गरिँदैछ । बाइडन समूहले भने मतपरिणाम फरक आउने अपेक्षा आफूहरूले नगरेको बताएका छन् । – बीबीसी

प्रतिक्रिया