नेपाली टोली बंगलादेशमा तीन दिने आइसोलेसनमा

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बिहीबार बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारेन्टिन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेको थियो ।
मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा रहेको नेपाली टोली एक साता क्वारेन्टिन बसाइपछि दुई मैत्रीपूर्ण खेल खेल्ने छ । बिहीबार नै ढाका पुगेको नेपाली टोलीले स्वास्थ मापदण्ड अनुसार क्वारेन्टिन बसाईका क्रममा शुक्रबार सामान्य अभ्यास गरेको छ ।

नेपाली टोलीको पीसीआर परीक्षणको नतिजा आएपछि टोलीले मैदानमा स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यास सुरु गर्ने तालिका रहेको छ । पाँच दिनको होटेल आइसोलेसनपछि अभ्यासमा फर्किने भनिए पनि टोली तीन दिनपछि नै प्रशिक्षण गर्ने तालिका अगाडि सारेको छ ।
कोरोना भाईरसको महामारीबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बिहीबार ढाका प्रस्थान गरेको हो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको छ । बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजाविहीन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।

प्रतिक्रिया