बेंगलोर पराजित हुनुका यस्ता छन् कारण

दुवई । रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटरबाटै बाहिरिएको छ । शुक्रबार राती सम्पन्न एलिमिनेटर खेलमा बेंगलोर सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित हुँदै बाहिरिन पुग्यो । बेंगलोरले जारी सिजनमा सुरुवात उत्कृष्ट गरेको थियो । सुरुवाती १० खेलमा ७ मा जित निकाल्दै उपाधिको दाबेदार प्रस्तुत गरेको थियो । त्यसपछि भने लगातार चार खेलमा पराजित भएपछि बेंगलोर अंक तालिकामा नेट रनरेटको आधारमा कोलकाता नाइट राइडर्सलाई पछि पार्दै अन्तिम चारमा रहेर प्ले अफ खेल्नु परेको थियो । एलिमिनेटर खेलमा पनि हारको सिलसिला नरोकिएपछि अघिल्लो चरणको सम्भावना सकियो । बेंगलोरले पछिल्ला पाँच खेलमा जित निकाल्न सकेन । हैदराबादसँगको खेलमा बेंगलोरले हार्नुका प्रमुख तीन कारण यस प्रकार छन् ।

विराट ओपनिङमा आउनु
बेंगलोर हैदराबादविरुद्ध प्रमुख चार ब्याट्सम्यानका साथ मैदान उत्रेको थियो । जसले गर्दा शीर्षक्रमका चार ब्याट्सम्यानको उच्च प्रर्दशन विना बलियो योगफलको सम्भावना कठिन थियो । यस अघिका सबै खेलमा तेस्रो नम्बरमा ब्याटिङ गरेका कप्तान विराट कोहली ओपनिङ आउने गलत निर्णय लिएका थिए । जसले बेंगलोरको मध्यक्रम ब्याटिङ झन कमजोर हुन पुग्यो ।

कोहली ओपनिङ आउनुको मुख्य कारण ठूलो इनिङ खेल्दै विशाल लक्ष्य बनाउनु थियो । तर कोहली दोस्रो ओभरमै ६ रनमा क्याच आउट हुन पुगे । बेंगलोरसँग प्रमुख ओपनर आरोन फिन्च हुँदा हुँदै कोहली ओपनिङमा आउने निर्णय पक्कै सहि थिएन । फिन्चमाथि कोहलीलाई विश्वास थिएन भने प्लेइङ–११ मा स्थान किन दिए भन्ने प्रश्न उठ्छ । ओपनिङमा जोश फिलिपेलाईनै खेलाउन सक्थे । फिन्चले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ३२ रन जोडे । कोहलीले तेस्रो नम्बरमा खेलेको भए ओपनरहरुको प्रर्दशनको आधारमा त्यसै अनुसार ब्याटिङ गर्न सक्थें र नतिजा फरक आउन सक्थ्यो ।

असन्तुलित टोली
बेंगलोरको प्लेइङ–११ हैदराबादविरुद्ध असन्तुलन थियो । बेंगलोरले प्रमुख चार ब्याट्सम्यानमात्रै खेलाएको थियो । तीन प्रमुख र एक अलराउन्डर गरि कुल चार स्पिनर खेलाएको थियो । मोईन अली अलराउन्डरको रुपमा खेल्दा, युजभेन्द्र चहल, एडम जाम्पा र वासिन्टन सुन्दर प्रमुख स्पिनरको रुपमा खेलेका थिए ।

बेंगलोरको ब्याटिङ शीर्ष तीन ब्याट्सम्यान देवदत्त पाडिक्कल, विराट र एबी डिभिलियर्समा निर्भर रहँदै आएको थियो । ब्याटिङ मजबुत गराउन स्पिनरको ठाउँमा दुई ब्याट्सम्यान खेलाउन सक्थ्यो । कमजोर ब्याटिङ समस्यालाई सुधार गर्न प्रमुख ६ ब्याट्सम्यान मैदान उतार्न सक्नुपथ्र्यो । शीर्षक्रम सस्तैमा आउट हुँदा तल्लोक्रममा सम्हाल्ने ब्याट्सम्यान बेंगलोरमा थिएनन् । मोईन अलीको स्थानमा जोश फिलिपे राम्रो विकल्प थिए ।

वासिंगटन सुन्दर र शिवम दुबे मध्य एकको स्थानमा पार्थिव पटेललाई खेलाएको भए तल्लोक्रम बलियो हुन सक्थ्यो । सुन्दरले २ ओभर बलिङ गर्दा २१ रन खर्चेका थिए । दुबेले १ ओभर बलिङ गर्दा ७ रन खर्चेका थिए । थप दुई प्रमुख ब्याट्सम्यान खेलाएको भए सम्भव त नतिजा बेंगलोरकै पक्षमा आउन सक्थ्यो ।

कमजोर डेथ ओभर बलिङ
सामान्य योगफलमा पनि एक समय बेंगलोरले हैदराबादलाई दबाबमा राखेको थियो । १२ औं ओभरको पाँचौं बलमा प्रियम गर्ग ७ रनमा आउट हुँदा हैदराबाद ६७–४ को कमजोर अवस्थामा थियो । जुन अवस्थामा बेंंगलोरले थप दुई विकेट लिन सकेको भए नतिजा बेंगलोरको पक्षमा आउन सक्थ्यो ।

तल्लोक्रमको कमजोर ब्याटिङ हैदराबादको प्रमुख कमजोरी हो । केन विलियम्सन र जेसन होल्डर क्रिजमा थिए । यी दुबै ब्याट्सम्यानलाई आउट गर्न सकेको भए हैदराबादमा अब्दुल सामद र राशिद खानमा निर्भर रहनुपर्ने थियो । दबाबमा यी दुई अलराउन्डरलाई खेल्न सहज हुने थिएन । तर १२ ओभरपछि बेंगलोरका बलरले विकेट लिन सकेनन् ।

जसको कारण दुई बल अगाडि हैदराबादले जित निकाल्न सफल भयो । विलियम्सन ५० रन र होल्डर २४ रनमा अविजित रहे । पाँचौं विकेटका लागि होल्डर र विलियम्सनले ६५ रनको अविजित साझेदारी गरेका थिए । जुन जितको आधार बन्यो ।

प्रतिक्रिया