किन विदेसिन्छन् डाक्टर ?

                  कमलराज बराल

डाक्टरी पेसालाई संसारभर सम्मानजनक रूपमा हेरिन्छ । सुन्दा जति सजिलो छ, डाक्टर बन्न र काम गर्न त्यति सजिलो चाहिँ छैन। अझ नेपालजस्तो देशमा कठिनाइ धेरै छन् । नेपालमा अहिले डाक्टरलाई जति सम्मान छ, त्यति नै डर र त्रास पनि छ ।

आफूले गल्ती गरेर हुने डरभन्दा बढी विनाकारण नबुझेर समाजले तिरस्कार गर्ने होकी भन्ने डर छ । सायद यस्तै परिस्थितिले होला स्नातक उत्तीर्ण गरेका नेपाली डाक्टरहरु विदेशिने क्रम बढ्दो छ। नेपाली डाक्टरहरु विदेशिन किन बाध्य छन् त ? यसबारे यो लेखमा चर्चा गर्न खोजिएको छ ।

स्वास्थ्यकर्मीमाथि भएका हिंसात्मक गतिविधि

सन् २०१३ मा बागलुङमा गरिएको एउटा सर्भेमा ६४.७ प्रतिशत स्वास्थ्यकर्मी कुनै न कुनै तवरबाट हिंसाबाट पीडित भएको देखाउँछ । ११.३ प्रतिशतलाई शारीरिक आक्रमण गरिएको पाइएको छ, ५८.८ प्रतिशतलाई मौखिक गालीगलोज र ११.३ प्रतिशतलाई यौन दुर्व्यवहार गरिएको पाइएको छ ।

वार्षिक उत्पादित २ हजार डाक्टरको ३६ प्रतिशत नेपाली डाक्टर वर्षेनी विदेशिने गरेको पाइएको एक अध्ययनले देखाउँछ । अझ विदेशिने प्रायः डाक्टर अब्बल नै हुन्छन् र विदेशमा गएर तिनै डाक्टरले धेरै राम्रो गरेका उदाहरण छन्। त्यसैले नेपालबाट डाक्टर विदेशिनु भनेको नेपाललाई ठूलो नोक्सानको कुरा हो ।

पछिल्ला दुई वर्षलाई हेर्ने हो भने १०० भन्दा बढी डाक्टरमाथि हिंसात्मक घटाना भएका छन् । अझ अहिले कोरोनाको समयमा त सामाजिक अन्धविश्वासले गर्दा स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको देखिन्छ । जुन स्वास्थ्यकर्मीलाई अहिले हौसलाको खाँचो छ, तिनीहरूलाई नै समाजले तिरस्कार गर्दा एउटा सेवकको चित्त त अवश्य नै दुख्छ ।

जुन स्वास्थ्यकर्मी यस्तो कहरको डरमा पनि भोक, निद्रा, प्यास र परिवारलाई एकातिर राखेर २४ घन्टाको ‘फ्रन्ट लाइन वर्कर’ को सिफ्टमा होमिन नडराउने हामी, शारीरिक थकान, मानसिक तनाव सहँदै बिरामीको सेवामा निरन्तर खटिने हामीहरूलाई हौसलाको सट्टा घृणा गर्दा काम गर्ने जाँगर त घट्छ नै ।

डाक्टरको तलब

निजी खर्चमा नेपालमा एमबिबिएस पढ्न एउटा विद्यार्थीलाई औसतमा ४५ देखि ५५ लाख र एमडी पढ्न पनि त्यति बराबरकै खर्च आउँछ । यति धेरै खर्च गरेर पढ्दा उसको मानसिकता पैसा कमाउने त अवश्य हुन्छ । किनकी, घरपरिवारका आसा र आफ्ना रहर पूरा गर्न पनि त्यत्तिकै चाप परिरहेको हुन्छ ।

तर नेपालमा भने एमबिबिएस सकिने बित्तिकै उसलाई सरकारी तवरबाट जम्मा मासिक ४० हजार तलब दिइन्छ । अमेरिका र अष्ट्रेलिया जस्ता देशहरूमा यस्तै प्रथम वर्षको रेसिडेन्सको तलब करिब ८ लाख हुन्छ, जुन नेपालको भन्दा १६ गुणा बढी हो ।

हुन त नेपालमा अहिले सरकारीमा काम गर्ने डाक्टरले बाहिर एउटा न एउटा प्राइभेट अस्पतालमा काम गरिरहेकै हुन्छन् तर त्यसैको भरमा त बस्न सकिँदैन नि। अझ यो बाहिर प्राइभेटमा काम गर्ने पद्धतिले उपचारमा धेरै महँगी बढेको देखिन्छ र यो सास्ती बिरामीले भोग्नु परिरहेको छ। त्यसैले यसको व्यवस्थापन सरकारी तवरबाट नै गर्नुपर्ने देखिन्छ।

विदेशिने मानसिकता

नेपालको डाक्टरहरुलाई दिइने तलब र सामाजिक व्यवहारको दृष्टिकोणले हेर्दा विदेश जाने मानसिकता आउनु त स्वभाविक नै हो । विदेश जान नेपालबाट भाग्नलाई मात्र नभएर ती देशहरुले आकर्षण गर्ने पक्षहरु पनि धेरै छन् । त्यहाँको स्वास्थ्य व्यवस्था, तलब, सेवा सुविधा र कानुनी व्यवस्थादेखि लिएर अन्य पक्षले आकर्षण गर्छन् ।

तर नेपालको देशभक्त सन्तान , नेपालको माया लाग्ने भएकाले नेपाल छोडेर बाहिर जान कसलाई पो रहर लाग्ला र ? विदेशमा काम गर्न पनि त्यत्तिकै चुनौतीहरू छन् । त्यहाँ पनि आफ्नै नियम छन्, कानुन छन् । एउटा सानो गल्तीले जागिरसम्म जाने डर त त्यहाँ पनि छ । तर त्यहाँका कानुनी पक्षहरु, अस्पताल र अस्पताल भित्रको व्यवस्थापनका धेरै कुराहरू नेपालको भन्दा भिन्नै छन् र सान्दर्भिक र वैज्ञानिक छन् । त्यसैले नेपालले पनि यस्ता पक्षहरुलाई सिक्न जरुरी छ ।

नेपालमा डाक्टरको आवश्यकता

हाल नेपालमा औसतमा २ हजार डाक्टर वार्षिक रूपमा उत्पादन हुन्छन् । नेपालमा अहिलेको डाक्टर–जनसंख्याको अनुपात हेर्ने हो भने १ जना डाक्टर बराबर १७२१ रहेको छ तर डब्लुएचओका अनुसार यो अनुपात १ जना बराबर १००० हुनुपर्छ भनिएको छ । डब्लुएचओको यो मापदण्ड पुर्याउन नेपालमा हालको डाक्टरको संख्याको ७२.१ प्रतिशत बढी डाक्टरको खाँचो छ ।

सन् २०१७ को एक अनुसन्धान अनुसार नेपालमा तत्कालीन डाक्टरको संख्या १६ हजार ४३२ थियो । त्यसको मतलब नेपालमा अझै ११ हजार ८४७ को संख्यामा डाक्टरको कमी छ र यो आपूर्ति गर्नका लागि नेपाल सरकारले ग्रामीण क्षेत्रदेखि सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा पुग्ने गरी अस्पतालहरूको निर्माण र त्यही अनुसारको डाक्टरहरु तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी खुलाउन जरुरी छ ।

यति हुँदाहुँदै पनि वार्षिक उत्पादित २ हजार डाक्टरको ३६ प्रतिशत नेपाली डाक्टर वर्षेनी विदेशिने गरेको पाइएको एक अध्ययनले देखाउँछ । अझ विदेशिने प्रायः डाक्टर अब्बल नै हुन्छन् र विदेशमा गएर तिनै डाक्टरले धेरै राम्रो गरेका उदाहरण छन् ।

त्यसैले नेपालबाट डाक्टर विदेशिनु भनेको नेपाललाई ठूलो नोक्सानको कुरा हो । यदि साँच्चै म जस्तै हजारौं डाक्टर अध्ययनरत विद्यार्थीहरु नेपालमै काम गर्न प्रेरित गर्न नेपाली समाजमा सामाजिक बानी–व्यहोराको विकास हुनेदेखि लिएर राज्यले पनि अनुकुल वातावरण सिर्जना गर्नु जरुरी छ ।

प्रतिक्रिया