खोजखबर

व्यावसायिक सीपले फेरिएको रामकलीको जीवन

जमुनावर्ष शर्मा २०७७ कार्तिक ७ गते ७:३४ मा प्रकाशित

              जमुनावर्ष शर्मा

आर्थिक रूपमा सबल हुन चाहन्छौँ भने मिहिनेत गर, मिहिनेतमा नै जीवनको सार्थकता लुकेको हुन्छ भन्ने व्यावहारिक आदर्शलाई आत्मसात् गर्ने रामकली खड्का कर्मशील जिन्दगी छिन् । कर्णाली अञ्चलको हुम्ला जिल्लामा जन्मिएकी उनको उद्यमशीलताको जिन्दगी तत्कालीन समयमा पञ्चायत सरकारले सीपमूलक तालिममा छनोट भई काठमाडौंमा तालिम लिने अवसरसँगै अघि बढिरहेको छ ।

सीपमूलक १८ महिने तालिमले उनलाई शिक्षा मात्रै दिएन, जीवनलाई विविध आयामबाट नियाल्ने अवसर पनि दियो । तालिमपछि उनी महिला प्रशिक्षण केन्द्रमा कार्यकर्ताको परीक्षा उत्तीर्ण भइन् । अस्थायी जागिरको बाटो खुल्यो । दरबन्दी मिलाएर काम गर्न थालिन् । त्यही बेला उनको भेट श्यामसुन्दर खड्कासँग भयो ।

१८ वर्षका उमेरमै वैवाहिक सम्बन्धमा बाँधिएकी रामकलीलाई पति श्यामसुन्दरको साथले निकै ऊर्जाशील बनायो । यसैबीच उनकोे भेट गायत्री चौधरीसँग भयो जो महिला प्रशिक्षण केन्द्रका प्राचार्य थिइन् । उनकै पहलमा ०३२ सालमा रामकली पोखरा आइन् । पतिको पनि पोखरा प्रहरी कार्यालयमा सरुवा भयो । वातावरण निकै अनुकूल बनिरहेको थियो ।

पोखराको माथिल्लो दीप (हाल मनिपाल हस्पिटल) भएका ठाउँमा महिला प्रशिक्षण केन्द्र थियो जहाँ उनी प्रशिक्षक थिए ।
०४६ सालको राजनीतिक परिवर्तनपछि महिला प्रशिक्षण केन्द्र पनि विघटन भयो । महिला सीप विकास संस्था भनेर मायादेवी शर्माका अध्यक्षतामा दर्ता भयो । महिला, दलित, अपांगता भएका र एकल महिलालाई सीपमूलक कार्यबाट जीवनस्तर उकास्ने संस्थाको लक्ष्य थियो ।

०४७ सालमा रोजगारी कार्यक्रम सञ्चालन भए पनि ०५२ सालमा आधिकारिक रूपमा गैसस दर्ता भयो र उनले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिन् । तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले तीन रोपनी जग्गा महिला सीप विकास संस्थालाई प्रदान गरेका थिए । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सन् १९७५ मा युनिसेफले भवन बनाइदिएको थियो ।

त्यहीँबाट महिलाका लागि विभिन्न सीपमूलक तालिम दिन थालियो र उत्पादित सामानले बजार लिन थाल्यो । त्यसबाट झण्डै १२ हजार महिलाले सीपमूलक तालिम लिएका छन् । कति देशभित्रै कार्यरत छन् भने कति देश बाहिर कार्यरत छन्, कति स्वरोजगारसमेत बनिसकेका छन् ।

हाल पोखरा सिमलचौरमा तीन रोपनी जग्गा १० वर्षका लागि भाडामा लिई उक्त उद्योग सञ्चालित छ । उद्योगमा झण्डै ६ सय महिलाले काम गर्दै आएका छन् । अहिले कोरोना कहरले निर्यात ठप्प हुँदा भने उद्योग सञ्चालन हुन सकेको छैन । आर्थिक विपन्न, एकल, दृष्टिविहीन र अपांगता भएका महिला रोजगारीको प्राथमिकतामा हुने गरेका छन् ।

हस्तकलाका कामबाट मासिक कम्तीमा १२ हजारदेखि २५ हजारसम्म कमाइ गर्न सकिने भएकाले गृहिणीहरू पनि आत्मनिर्भर बनेका छन् । आज पनि हरेक महिलाको प्रेरणा स्रोत बनिरहेकी रामकली प्राविधिक शिक्षा आफ्नो जीवनमा मात्र नभई धेरैको रोजीरोटीको आधार भएको बताउँछिन् । उनी भन्छिन्, ‘अबको समय व्यावसायिक र प्राविधिक सीप सिकेर देशमै केही गर्ने समय हो ।’

नेपालमा २००४ सालदेखि जीवनोपयोगी प्राविधिक तथा व्यावसायिक शिक्षाको लामो समय पार गरिसके पनि यसले जुन उपलब्धि हासिल गर्नुपर्ने हो, त्यो हुन नसकेको खड्काको भनाइ छ । ‘यस क्षेत्रले आफूलाई मात्रै आत्मनिर्भर बनाउँदैन, देशलाई नै समृद्धिको बाटामा लान्छ तर आज पनि व्यावसायिक र प्राविधिक शिक्षाको महत्व उजागर हुन सकेको छैन ।’

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश कार्यालयका उपनिर्देशक जीवनप्रसाद भण्डारी अहिले राज्यको प्राथमिकतामा प्राविधिक शिक्षा रहेको र सोहीअनुरूप आफूहरू अघि बढेको बताउँछन् । उनले ७ सय ५३ स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गर्ने सरकारको उद्देश्यअनुरूप परिषद् संस्था विकास र विस्तारमा लागेको जानकारी दिए ।

उनका अनुसार अहिले प्राविधिक शिक्षालाई विकास र विस्तार गर्ने योजनासहित निजी क्षेत्रलाई सम्बन्धन दिने, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स स्कूल) विस्तार गर्ने, छोटो समयका तालिम सञ्चालनका लागि निजीस्तरका संस्थालाई सम्बन्धन दिने तथा आंगिक शिक्षालय विस्तारसँगै गैरनाफामूलक संस्थासँग साझेदारी कार्यक्रममार्फत विकास र विस्तार गर्ने काम भइरहेको छ । अहिले ६५ देखि ७० प्रतिशत व्यावसायिक र प्राविधिक शिक्षा लिएकाहरू रोजगारीमा छन् ।

गण्डकी बहुप्राविधिक शिक्षालयका प्रमुख लक्ष्मण तिमिल्सिना दक्ष जनशक्ति उत्पादन गरेर देशभित्र नै रोजगारीको वातावरण बनाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउँछन् । ‘हामीले पढेको शिक्षाले कटुसको पात चिनायो तर प्राविधिक शिक्षाले टपरी बनाउन सिकाउँछ । दैनिक जीवनमा सहज हुने र उपयोगी हुने शिक्षा नै आजको आवश्यकता हो,’ तिमिल्सिनाले भने ।

आफ्नो रुचिअनुसारको अध्ययन गर्न पाइने भएकाले प्राविधिक शिक्षाप्रति युवाको रुचि बढ्दै गएको उनको भनाइ छ । प्रदेशमा अटो इञ्जिनियरिङ पढाइले अबको १० वर्षमा ९० प्रतिशत अटो मोबाइलमा नेपाली प्राविधिक हुने उनकोे विश्वास छ । पोखरा प्राविधिक शिक्षालयका प्रमुख हर्कलाल श्रेष्ठका अनुसार पोखरा प्राविधिक शिक्षालय फूलबारीमा तीनवर्षे होटल व्यवस्थापनअन्तर्गतका कुकिङ, हाउस किपिङ, फ्रन्ट डेस्क र फुड एन्ड बेभरेजमा पढाइ हुन्छ ।

होटल व्यवस्थापन (४०जना) मा तीनवर्षे प्रमाणपत्र तह, अप्थाल्मिक (४० जना) मा तीनवर्षे प्रमाणपत्र तह र प्रिडिप्लोमा इन कुलिनरी आर्ट (कुकिङ बेकिङ, १८ महिने, २० जना) पनि अध्ययनअध्यापन हुन्छ । यससँगै व्यावसायिक तालिमअन्तर्गत छोटो समयका सिलाइकटाइ, बुटिक, ब्युटिपार्लरलगायत तालिम सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय