मिथिला पोखरेल
यत्ति साह्रो अशिष्ट,असभ्य र अराजक बोली हाम्रा अनपढ दिदी बहिनीहरु पनि बोल्दैनन् । योग्यता र क्षमता बिना नै लबीको फेर समातेर केन्द्रीय सदस्य,समानुपातिक सभासद् वा अरु कुनै ठूलो पदमा पुगेपछि यस खालको बेहोरा हुनु स्वभाविकै होला । हामी पनि लामो समयदेखि राजनीतिमा लागेका हौँ ।
आफ्नो फेसबुक वालमा आफूलाई राजनीतिज्ञ भन्न खूव रुचाउने रामकुमारी झाँक्रीको राजनीतिका नाममा गरेको केही उदाहरणीय ( ? ) गतिविधि आम पाठक समक्ष राख्न मन लागेर आयो । उनले केही समयदेखि विभिन्न मिडियाहरुमा बोलेका तमाम गतिविधिबाट राजनीतिका नाममा उनले गरेका गतिविधिहरुको पोल खुल्छ ।
के यस्तै हो राजनीति ? नेतृ झाँक्रीले पार्टी स्थायी समिति सदस्यहरु घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बने पनि प्रधानमन्त्री ओलीले नै तपाईंहरुलाई असफल बनाइदिन्छन् भन्ने सम्मको अत्यन्त निकृष्ट आरोप लगाइन् । प्रधानमन्त्रीलाई चिनियाँ राजदूतसित जोडेर गरेको लज्जास्पद मिडियाबाजी गर्ने भारतीय मिडियाहरुले घोप्टो परी माफ मागिसकेपछि पनि त्यही विषय उछालेर ओली विरुद्ध झाँक्रीले अत्यन्त भन्दा र तुच्छ स्तरको आरोप आफ्नो फेसबुक सञ्जालमा प्रबाह गरिन् ।
मैले यस खालका लाज,घिन र सरम नभएका चरित्र आजसम्म देखेको रहेनछ । यस्ता कुराले मलाई साह्रै दुःख लाग्यो । जुन थालमा खायो त्यही थालमा के गर्ने भनेझैँ हुँदा पनि हाम्रा आदरणीय नेतृहरु चुपचाप हुँदा अर्को दुःख लागेको छ । अपराध गर्ने र अपराध गरेको देखेर चुप्प लाग्ने पनि दोषी हुन् । कम्तीमा आफ्ना छोरी र बहिनी सरहका नेतृहरुलाई राम्ररी सम्झाउनु त पर्छ ।
सम्झाइबुझाइ गर्दा पनि यस खालको व्यवहार गरेको हो भने त कुरा अर्कै हो । त्यसैले शान्ता मानवी जस्ता आदरणीय दिदीहरु तपाईंँहरु यस्ता विषयमा चुपचाप हुन हुँदैन । पार्टीमा र महिला लगायत मोर्चा संगठनमा भुइँ तहदेखि लागेका र माथिल्लो तहको नेतृत्व तहमा पुगेका आमा,दिदी र बहिनीहरु अनेकौँ छन् ।
तल्ला निकायमा पनि हजारौँ महिलाहरु आवद्ध रहेका छन् । ०६२,०६३ को आन्दोलनमा टाउको फुटेकै भरमा मात्र समानुपातिक सभासद मात्र होइन मन्त्री बन्ने अवसर ओलीले नदिएको भनेर झाँक्रीले सदावहार रोइलो गरेको देखिन्छ । पार्टीमा सक्रिय भएवापत जेल,नेल,यातना र अपमान सहेका धेरै महिलाहरु छन् ।
यस वापत पति,पुत्र र घर परिवार गुमाएका आमा र दिदीहरु प्नि छन् । आजीवन निश्वार्थ रुपमा सक्रिय रहेका दिदीहरु शान्ता मानवी,गोमा देवकोटा,ओमसरि घर्ती,अमृता थापा मगर र भगवती चौधरी आदि अनेक हुनुहुन्छ । उहाँहरु त केही प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । तर झाँक्री जस्तै अत्यन्त अराजक तथा स्वेच्छाचारी गतिविधि उहाँहरुबाट मात्र होइन कुनै पनि महिला नेता र कार्यकर्ताले गर्दैनन् र गर्ने छैनन् ।
महिलाहरु आमा हुन् । आमा सृजनाका मुहान हुन् । मायाँ ममता र करुणाकी खानी हुन् । आमाहरु झाँक्री जस्ता दुच्छर स्वभावका हुँदैनन् । झाँक्री आमा पनि हुन् तर उनमा आमाको स्वभाव एकरत्ति पाइएन । झाँक्रीबाट उनका सन्तानले के सिक्ने ? घर पहिलो पाठशाला हो, भने र आमा पहिलो गुरु हो भने तिनले के सिकाउँछन् ? तिनले जे जस्तो सिकाउँछन् त्यस्तै शिक्षा लाला वालाले सिक्छन् ।
झाँक्रीले बोलेको उनका सन्तान र उनका वरपरकाले पनि सुन्छन् र सिक्छन् । मैले सुनेकी छु राजनैतिक संस्कार हुन्छ । जथाभावी बोल्नु राजनीतिक संस्कार हो र ? यस्तै बोली बोल्न नेकपाको केन्द्रीय सदस्य बन्नु पर्ने हो र ? यत्ति साह्रो अशिष्ट,असभ्य र अराजक बोली हाम्रा अनपढ दिदी बहिनीहरु पनि बोल्दैनन् ।
योग्यता र क्षमता बिना नै लबीको फेर समातेर केन्द्रीय सदस्य,समानुपातिक सभासद् वा अरु कुनै ठूलो पदमा पुगेपछि यस खालको बेहोरा हुनु स्वभाविकै होला । हामी पनि लामो समयदेखि राजनीतिमा लागेका हौँ । यस्ता धेरै योग्य महिलाहरु तल हुनुहुन्छ । असन्तुष्टि राख्ने कुरा बेग्लै हो तर झाँक्री खालको सर्वथा अनुचित र अराजक कृत्य कसैले गर्दैनन् ।
यो त आम महिलाको बेइज्जति हो । प्रधानमन्त्री ओलीले भँमराको संगतले फूल र फूलबारीमा पुगिन्छ ,झिँगाको संगतले रछ्यानमा पुगिन्छ भनेझैँ भएको पो हो कि ? राति सुतेको समय बाहेक सबै समय पाँडे गाली गर्नमै झाँक्रीले समय बिताएको देखिन्छ । झाँक्रीले महिला चेतना,जागरण र सचेतना गर्ने गराउने सिर्जनात्मक र रचनात्मक काम एकरत्ति गरेको देखिन्न,पाइन्न ।
नेकपाकी केन्द्रीय सदस्य पहिचानकी झाँक्रीका राष्ट्रपति,पार्टी र सरकार तथा अझ प्रधानमन्त्री ओली विरुद्ध एक सूत्रीय मिडियाबाजी सुनेर कानै पाक्न थाल्यो । लकडाउनका बेला घर बसीबसी सञ्चार माध्यमबाट देश र विदेशका सबै गतिविधि सुन्नु नै एउटै मात्र काम भएको छ । झाँक्रीका लगातार,तारन्तार र एकोहोरो विरोध अशिष्ट,अराजक अन्तर्वार्ताले कान पाक्यो,अति भयो हद हुन थाल्यो,यसरी दिउँसै रत्यौली खेलेको देखेर रमिते भएर बस्नै नसकेर यो लेख लेखेकी हुँ ।
हुनत नेकपाका प्रभावशाली नेता प्रदीप नेपालले समेत केही समय अघि झाँक्री चरित्र उजागर गर्नु भएको थियो । उहाँले जहिले पनि पार्टीको सल्लाह सुझाव नमान्ने अराजक स्वभावकी रहेको संक्षेपमा बताउनु भएको थियो । पारिवारिक र पार्टीको लबीगत गलत शिक्षा र दीक्षाका कारण पनि कतिपय नेताहरु भौँतारिएको देखिन्छ । नेतृ उर्मिला अर्याल अनेम संघको महाधिवेशनमा विद्या कमरेड विरुद्ध झाँक्रो फिँजाउँदै सम्मेलन स्थलमा परिचालित भएकी थिइन् ।
यत्तिको राजनैतिक,वैचारिक स्तर तथा पदीय हैसियतको नेताले अलिकति विवेक राखेर व्यवहार गर्नुपर्छ । कसैको लौरो,लट्ठी र झट्टी भएर जथाभावी जाइलाग्नु हुँदैन । झाँक्री प्रयोजित बोली बोलरहेकी हुन् कि भन्ने लागेको छ । मिडियाहरुले अनावश्यक रुपमा फुक्र्याएकै भरमा तथानाम बोलेर आफ्नै धोती खुस्केको पनि थाहा नपाउने धाँक्री राजनीतिक रुपमा मात्र होइन सामाजिक रुपमा पनि ओरालोतिर लाग्दैछन् । बेलैमा सप्रिए जाती हुन्छ र होला । आखिर हामीले के पो गर्न सक्छौँ र यति गर्दा पनि भीरबाट लड्नेलाई रामराम मात्र भन्न सकिन्छ,काँध हाल्न सकिन्न ।
इटहरी निवासी लेखक ‘चेलीको चीरहरण’ कृतिकी लेखक हुन् ।
प्रतिक्रिया