अब खाँचो पुरुष सचेतनाको…

होमनाथ तिमल्सिना

सुरुमा तपाइँहरुलाई म एउटा तथ्य प्रस्तुत गर्न चाहन्छु । सिन्धुपाल्चोक घर भएकी एक महिला काठमाडौं नयाँ बसपार्कमा मरणासन्न अवस्थामा भेटिइन् । हेर्दा गर्भवती झैँ देखिन्थिन् । उहनको पेट ठूलो थियो । मानवसेवा आश्रमको टोलीले उद्दार गरी उपचारको लागि वीर अस्पताल लगे ।

परीक्षण गर्दा गर्भवती नभइ किड्नीको कारण उनको पेट फुलेको भन्ने पत्ता लाग्यो । उनको जीउभरी चुरोटका ठुटाले पोलेको दाग थियो । शरीरको गोप्य अङ्गमा पनि ठुटाले पोलेर छिया–छिया परेको थियो । उनि विक्षिप्त अवस्थामा थिइन् । वीर अस्पतालमा केही समय उपचार गरिए पनि उहनलाई बचाउने कयौँ प्रयास सफल भएन ।

बाग्लूङबाट सिन्धुपालचोक हिँडेकी महिला बाटो खर्चको अभावमा नयाँ बसपार्कको एउटा होटलमा केही कामको आशामा पुग्छिन् । २६ वर्षको कलिलो उमेरमा एउटा होटल व्यवसायीको खराब आचारण र मनस्थितिको कारण यौन दुव्र्यवहारमा पर्छिन् । विभिन्न किसिमका यातना तथा चुरोटका ठुटाले यौनाङ्गमा छिया–छिया हुने गरेर पोलिनु पर्छ । यो चरम यातना कति दिनसम्म भयो होला ।

सोच्न सक्नुहुन्छ ? अब भन्नुस्, हाम्रो समाज कता गइरहेको छ । आज हाम्रो मानसिकता कता गइरहेको छ ? हामीले चाहेका कुरा किन प्राप्त हुन सकेको छैन् ? के हामी सुखशान्ति आनन्द, खुशीको चहाना राख्दैनौँ र ? हामी जुन डुङ्गामा सवार छौँ, त्यही डुङ्गाको छेउमा प्वाल पारिरहेका छौँ अनि यात्रा लामो र सरल होस् भन्ने चाहाना गर्दछौँ ।

ईश्वरको दुई रचना महिला र पुरुष बीचको विभेदले हाम्रा धेरै शुखको पल छिनिरहेको छ । हामी हाम्रा आमा, दिदीवहिनी, श्रीमतीलाई आफूभन्दा नसक्ने, घरको चुला चौका गर्ने जात, अर्काको घरमा जाने जात यस्ता संकुचित मानसिकताबाट हेरिरहेको छौँ । अनी हाम्रो समाज कसरी उन्नतिको पथमा लम्कन्छ ?

आज हाम्रो समाजमा महिला हिंसाविरुद्ध सचेतनाको कार्यक्रम धेरै नै हुने गरेको छ । सङ्घीय सरकारदेखि स्थानिय सरकारसंम्म करोडौँ बजेट विनियोजन हुन्छ । तर, समाजमा हुने महिला हिंसाका घटना घट्नुको साटो बढिरहेको छ । लकडाउनको समयमा पनि महिला हिंसालाई छायाँ महामारीको रुपमा हेर्न सकिने भनी सर्वोच्च अदालतको परमादेशमा उल्लेख गरेको छ ।

देशको ५१ प्रतिशत जनसंख्या रहेको महिला समानताका कुरा भने अझै कमजोर छ । राजनीतिक संलग्नता होस्, सरकारी या गैरसरकारी वा रोजगारीमा निक्कै कम महिला सहभागी हुने गरेको राष्ट्रिय महिला आयोगको २०७५ को वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जसमा निजामती सेवामा २३.७२ प्रतिशत र नेपाल प्रहरी र सशत्र प्रहरीमा ३.२ प्रतिशत र ४.९५ प्रतिशत सहभागिता उल्लेख छ । नेपाल सरकारको विभिन्न निकायले महिला समनाता तथा हक हितका लागि हालेको बजेट खेर गइरहेको त छैन यहाँ गम्भिर प्रश्न खडा भएको छ । त्यसैले गुनात्मक उपलव्धि हुन सकिरहेको छैन ।

बजेट ठुलो खर्च, उपलब्धि शून्य

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७६–७७ को बजेटमा पनि महिला विकास कार्यक्रम तथा महिला शसक्तिकरण कार्यक्रममा क्रमसः रु दुई करोड ४२ लाख तथा रु पाँच करोड चार लाख बजेट छुट्याएको छ । यस्तै स्थानिय सरकार तथा प्रदेश सरकारको वजेटमा पनी ठुलै संबोधन गरिएको छ ।

बजेटमा महिला शशक्तिकरण भनिएता पनि देशमा महिला हिंसाको घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिंसा पीडित महिलाको न्याय प्राप्तिको स्थिति कमजोर रहेको कुरा निर्मला पन्तको बलत्कारपछि भएको हत्या दरिलो उदाहरण हो । महिलाको शसक्तिकरणसँगै अब महिला हक, हित र संरक्षणको विषयमा पुरुषमा पनि सचेतना हुनु जरुरी छ ।

घरको सेवा गर्न पुरुषले पनि हुन्छ । श्रीमानको कमाइ मात्र श्रीमतीले खाने होईन, श्रीमानले पनि श्रीमतीको कमाइ खान हुन्छ । महिलाबाट महिला जोखिममा रहनेभन्दा पुरुषबाट बढी जोखिममा रहेको पाइन्छ । त्यसमा पनि आफ्नै परिवारको सदस्यबाट ।

पुरुषको गलत सोच

अर्काे एउटा दृष्टान्त म प्रस्तुत गर्न चाहन्छु । म सेवारत संस्था मानवसेवा आश्रममा एक जना बहिनी नर्सिङ सेवाको लागि आउन चहन्थीन् । तर, उनको दाई र बाबालाई छोरी मान्छे, विवाहको उमेर भएको छ, घरभन्दा बाहिर रहन हुन्न भने मानसिकताले छोयो । रातको ८ बजे सुत्ने समय भएको बेलाम ६–७ किमी टाढाबाट लिन आए र लिएर गए ।

सेवामा जोडिन दिनन् । महिला हिंसा रोक्ने कार्यक्रम जति गरे पनि, महिला हिंसाविरुद्ध १६ दिने अभियान चलाए पनि जबसम्म हाम्रा समाजका पुरुषको सचेतनाको स्तरमा वृद्धि हुन्न तबसम्म हाम्रा आमा, दिदीबहिनी, घरको चुलोमा र श्रीमान तथा सन्तानको व्यवस्थापनभन्दा टाढा जान सक्दैनन् ।

वीर गोर्खालीको देश, सगरमाथाको देश, भगवान् गौतम बुद्धको देश, नाथैनाथको देश नेपाल पुरुषप्रधान देशको रुपमा रहेको राज्य हो । २१ औँ सताब्दीमा यो कुरा भन्नु र हुनु दुबै निक्कै नै दुखद् हो ।

आज विश्व चन्द्रमामा वस्ती निर्माण, मंगलमा खेती, अर्को सूर्यको निर्माणको कुरा गरिरहँदा हामी आझै पनि महिला समानता र हकहितका कुरा गरिरहेको छौँ । देश विकासका मेरुदण्ड जनता जो आज पनि महिला र पुरुषको रुपमा विभक्त रहेको छ । तर, आज पनि हाम्रो समाजमा धेरै किसिमको विभेद छ, र यो विभेद कति समयसम्म रहने हो त्यसको टुङ्गो छैन । जबसम्म हामी चेतसिल हुँदैनौँ, विवेकी हुदैनौँ तबसम्म यो चलिनै रहन्छ ।

आज हाम्रो समाजमा महिला सचेतनाका धेरै कार्यक्रम हुने गरेको छ । मेरो आफ्नो विवेकले के भन्छ भने अब महिला सचेतना होइन पुरुष सचेतनाका कार्यक्रम जरुरी भइरहेको छ । किन किन की, आज समाजमा हुने धेरैभन्दा धेरै खराब काम, सामाजिक द्धन्द्ध, मतभेद, असमानता, अराजकता, कुरिती पुरुषबाट नै हुने गरेको छ ।

किनकी महिलामा भन्दा पुरुषमा धेरै किसिमको दुव्र्यसनी रहेको छ र पुरुषले गर्ने दुव्र्येसनी धेरै हदसम्म खुल्ला पनि रहेको छ । त्यो घर, घर जस्तो हुन्छ, जुन घरको पुरुष वास्तविक मानव जस्तो छ । नत्र घर नर्क जस्तो बनिहाल्छ । दिन दिनै झगडा, मदिरा पान, अराजकता, अपमान र कुसंस्कार सुरु हुन्छ ।

भन्ने गरिएको छ पुरुष बाहिरबाट कमाउने अनि महिलाले घर चलाउने हो । के तपाईँलाई लाग्दैन यो साँच्चि कै मजाक हो भनेर ? के पुरुष नभएका महिलाले आफ्नो घर संचालन गरेको छैनन् ?  महिला आमा हो, महिला सृष्टी हो, महिला जननी हो अनी महिला संस्कारकी खानी हो, देवी हो । हामी त्यही सृष्टिलाई थिचोमिचो गरिरहेको छौँ ।

हाम्रै परिवारमा रहेको आमा, दिदीबहिनी, श्रीमतीलाई हिंसा गरेर हाम्रो परिवार कसरी सम्वृद्ध हुन्छ । आफ्नै नातागोता आफन्तबाट नै महिला असुरक्षित रहेका छन् । हामी सृष्टी कै सचेत नागरिक भएर पनि यति कुरा किन नबुझेको होला ? कति हाँस्यापद छ है मानिसको चेतना । एउटा घरमा भएको मान्छे दुँखी हुँदा अर्को चाहीँ कसरी खुशी हुन सक्छ ।

पुरुषबाट बढी हिंसा

म यो भन्दिन पुरुषहरु मात्र गलत हुन्छन् भनेर महिलामा पनि त्यसको प्रभाव छ । तर, धेरैभन्दा धेरै चाहीँ पुरुषको कारणले गर्दा समाजमा असमानता, अराजकता, महिला हिंसा जास्ता कुरा भइरहेको छ । हाम्रो समाजमा पुरुषमा पढाई धेरै तर, चेतना र विवेक कम भएको छ । चेतनशिल पुरुष र समझदार महिला भएको घर वास्तविक मन्दिर हो ।

पूजापाठ र धर्म कमाउनको लागि, अनी एक असल संस्कार विकासको लागि अरु कहीँ पनि जान पर्दैन । धेरै महिलाहरु सडकपेटीमा बास बस्न विवस छन् । भरतको विभिन्न स्थानमा बेचिन विवस छन् । विभिन्न किसिमको शोषणसहित आफ्नो घर चलाउन विवस छन् । गर्भमा रहँदै मर्न विवस छन् । कलिला बालिका बलात्कृत भइरहेका छन् ।

यी सम्पूर्ण कुरा भनेको पुरुषमा भएको चेतनास्तर अभावको प्रतिविम्ब हो । अब महिलालाई होइन सचेतना पुरुषलाई आवश्यक छ । महिलामा भएको सचेतनाले घटना भएपछि बाहिर आउँछ यदी यो सचेतना पुरुषमा हुने हो भने त्यो घटना नै हुन पाउँदैन । पुरुष सचेत हुनु जरुरी छ । महिला कर्तव्यमुखी र जिम्मेवार हुन जरुरी छ । हाम्रो समाजमा त्यस्ता घटना पनि छन्, जुन महिलाको कारण पुरुष पीडामा छन् ।

त्यो पनि पुरुषको आफ्नो चेतानास्तर कम भएको कारणले हो । मानसिक तथा शारीकि क्षमता बराबर भए पनि महिलालाई हामी पुरुष मानिकताले पेलिरहेका छौँ, अनी तिमी सक्दिनौँ भनिरहेका छौँ । हाम्रो सिमित स्वार्थपुर्ती र आवश्यकताको आधारमा महिलालाई विभिन्न रुपमा प्रयोग गर्दै आईरहेका छौँ । अब जागरणको बेला भएको छ, पुरुष जागरणको बेला ।

नेपाल सरकारले समस्त महिलाको हकहित, संरक्षण गरी उनीहरुलाई विकासको मूल प्रवाहमा लैजानका लागि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन गरी सेवा गरिरहेको छ । २०७२ सालको संविधान जारी भएपछि महिला आयोगले संवैधानिक हैसियत पाएको छ । अन्य विभिन्न संघसंस्था पनि खुलेकाछन् ।

महिला अधिकारकोकुरा डोडतोडले उठेको छ र केही प्राप्त पनि भएको छ । तर अझै अभाव छ । देशको कुल जनसंख्याको आधाभन्दा बढी अंश ओगट्ने महिलालाई पूर्ण समानता र हक दिनका साथै पुरुष सचेतनाको पनि जरुरत पर्दछ । आजैबाट लाग्ने की ? (लेखक तिमल्सिना मानवसेवा आश्रमका समर्पित अभियन्ता हुन्)

प्रतिक्रिया