विश्व

भारतमा कोरोना संक्रमित संख्या ७५ लाख नाघ्यो

सौर्य अनलाइन २०७७ कार्तिक ३ गते १३:२२ मा प्रकाशित

नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख नाघेको छ । सोमबार बिहानसम्म प्राप्त समाचार अनुसार भारतमा कोरोना संक्रमित संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ । यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ६१० जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ५५ हजार ७२२ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण ५७९ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ । अझै पनि भारतभरी ७ लाख ७२ हजार ५५ व्यक्ति सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६६ लाख ६३ हजार ६०८ जना संक्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ ।

यसअघि नौ, दश लाख संक्रमितहरु रहने गरेकोमा केही यताबाट घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत शनिबार दिएको जानकारी अनुसार पछिल्लो ४५ दिनयता संक्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो ।

कोरोनाको संक्रमण देखा परेयता भारतमा सोमबारसम्म ९ करोड ५० लाख ८३ हजार ९७६ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वभरि हालसम्म ११ लाखभन्दा बढीको मृत्यु भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा चार करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय