मदिराको नसामा गाउँपालिकाको गाडी तोडफोड

सिमकोट । मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको हो ।

छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका– ४ का लक्ष्मण मल्लले मदिराको नसामा शनिबार अपराह्न गाडी तोडफोड गरेको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन् ।

मदिराले लठ्ठ भएका मल्लले कर्णाली प्रदेश ००१ झ ००९७ नम्बरको गाडी तोडफोड गरेका हुन् । गाउँपालिका– २ महिला खोलामा पार्किङ गरेर राखिएको गाडी मदिराले मातिएका मल्लले ढुङ्गा प्रहार गरी सिसासहित अन्य भाग फुटाएका छन् ।

मल्लसँग गाउँपालिकाको कुनै रीसइबी र चिनजानसमेत नभएको तर, गाउँपालिका नजिकैको सडकमा पार्किङ गरिएका ठाउँमा एक्कासि आएर तोडफोड गरेको उपाध्यक्ष बुढाले बताइन् ।

मदिराको नसामा रहेका मल्लले छप्रेला प्रहरीमा रहेका दुई कुर्सीसमेत भाँचेको जानकारी प्राप्त भएको छ । अभियुक्त मल्ललाई छप्रेला र मैला प्रहरीचौकीले नियन्त्रणमा लिएर सरदुकाम सिमकोट ल्याउँदै गरेको उपाध्यक्ष बुढाले जानकारी दिइन् ।

प्रतिक्रिया