अब नेपाल प्रहरीको ठाउँमा नेकपा प्रहरी लेखे हुन्छ : सिंह

सर्लाही । रामनगर गाउँपालिका ७ सिसौटका कांग्रेस कार्यकर्ता महेन्द्र रामको हत्याको विषयमा आइतबार नेपाली कांग्रेस क्षेत्रीय समिती क्षेत्र नं ४ ले धनकौल गाउँपालिकामा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस पार्टीका प्रदेश २ का प्रमुख सचेतक एवं सर्लाही निर्वाचन क्षेत्र नं ४ (ख) का प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहाले शोकाकुल परिवारजनमा हार्दिक सम्बेदना प्रकट गर्दै कोरोना महामारीको विषम परिस्थितिमा बाध्य भएर हत्या गरिएका नेपाली कांग्रेसका दलित कार्यकर्ता महेन्द्र राम र रामका परिवारलाई न्याय दिलाउनका लागी पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए । दलित कार्यकर्ता महेन्द्र रामको हत्या पूर्व तयारी अनुसार नै भएको समेत उनले ठोकुवा गरे ।

प्रदेश २ का कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति एवं नेपाली कांग्रेसबाट सर्लाही निर्वाचन क्षेत्र नं ४ (क) का प्रदेश सभा सदस्य बिरेन्द्रप्रसाद सिंहले संघीय सरकारले पुर्व तयारी अनुसारनै निर्वाचन क्षेत्र नं ४ मा विगत केही महिनादेखि नेपाली कांग्रेसका निर्दोष कार्यकर्ताहरुलाई नियतबस हत्या तथा विभिन्न झुठा मुद्दाहरुमा फसाउने काम गर्दै आएको उनले बताए । उनले भने, ‘हत्या गरिएका काङ्ग्रेस कार्यकर्ता महेन्द्र रामको न्यायका लागि जाहेरी दर्खास्त लिएर रामको श्रीमती र भाइ जिल्ला प्रहरी कार्यालयमा जादा मुल ढोकामा नै निहत्था पीडितमाथी प्रहरीद्वारा अन्धाधुन्ध लाठी र आसु ग्यास प्रहार गरिनु निन्दनीय कार्य हो ।’ शान्तिपुर्ण आन्दोलनको अगुवाइ गरेका नेपाली काङ्ग्रेसका संघीय सांसदद्वय डा अमरेशकुमार सिंह र नागेन्द्रप्रसाद यादव, प्रदेश सभाका सांसदद्वय बिरेन्द्र प्रसाद सिंह र उपेन्द्र प्रसाद कुशवाहा, जिल्ला उपसभापति सुरेन्द्र सिंह लगायतका नेता तथा कार्यकर्ताहरु माथी समेत प्रहरीले दुव्र्यवहार गरेको बताइएको छ । कोरोनाको विषम परिस्थिति र नेपालीहरुको महान चाँड बडा दशैँका कारण केही दिनका लागि सडक आन्दोलन स्थगित गरिए तापनि सामाजिक संजाल मार्फत आन्दोलन जारी रहने बताए । पर्व सकिए लगत्तै पुनः सशक्त सडक आन्दोलन सुरु गरिने समेत उनले जनाए ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति सुरेन्द्र सिंहले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर र ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धवसिंह भाटले नै गत असोज २८ गतेको शान्तिपुर्ण आन्दोलनमा सहभागी भएका निहत्था नेता तथा कार्यकर्ताहरु माथी अन्धाधुन्ध लाठी र आँसु ग्यास प्रहार गरेकै कारण शान्तिपुर्ण आन्दोलन रणभूमिमा परिणत हुन गएको बताए । लाठी र आँश्रु ग्यास प्रहारले आफ्ना दुई दर्जन नेता तथा कार्यकर्ताहरु घाइते समेत भएको बताउदै उनले भने, ‘हालसम्म मृतकको शव प्रहरीकै जिम्मा रहेको र प्रहरीले जाहेरी दर्खास्त समेत दर्ता गर्न नमानेको र उल्टै धम्कीको भाषा प्रयोग गर्दै आएको छ ।’

संघीय सांसद डा. अमरेशकुमार सिंहले कम्युनिस्टको खोल ओढेर आएका जिल्लाका एसपी र ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपीको बर्खास्ती तथा हत्या गरिएको महेन्द्र रामलाई सहिद घोषणा गर्नुपर्ने बताए । उनले जाहेरी दर्खास्त दर्ता गर्नुपर्ने, दोषीलाई तत्काल पक्राउ गरि कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने लगायतका मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने जनाए ।

प्रहरीनै पार्टीको कार्यकर्ता भएको समेत उनले दावी गरे । उनले भने, ‘सशस्त्र जनआन्दोलनको समयमा प्रचण्डलाई काङ्ग्रेसले मान्न तयार नरहेको समयमा प्रचण्डलाई जङ्गलबाट बाहिर ल्याउने म नै हु । तसर्थ जिल्लाका एसपीले म प्रचण्डको सुरक्षा गार्ड बसेको र आफुलाई प्रचण्डसंग प्रत्यक्ष सम्बन्ध भएको धाक नलगाउन म सुझाव दिन चाहन्छु ।’ उनले भने, ‘बिगत केही महिनामा निर्वाचन क्षेत्र न. ४ मा मात्रै ५६ जना नेपाली कांग्रेसका कार्यकर्ताहरु माथी झुठा मुद्दा लगाएको छ ।’ पूर्णीमा पछिको सडक आन्दोलनमा पार्टीका शिर्ष नेताहरूलाई जिल्ला ल्याउने तयारी समेत रहेको उनले जनाए ।

प्रहरीले न्याय दिनुपर्ने ठाउँमा उल्टै ज्यादती गर्दै आएकोले पार्टीले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बुझाएको ज्ञापनपत्रमार्फत यस घटनाको विषयमा प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराइएको उनले बताए । उनले आक्रोश पोख्दै भने, ‘अब नेपाल प्रहरीको ठाउँमा नेकपा प्रहरी लेखे हुन्छ । हत्या, हिंसा र दमनलाई नेपाली कांग्रेसले कदापि स्वीकार गर्दैन ।’ महेन्द्र रामको हत्यारालाई तत्काल पक्राउ र पीडितले न्याय नपाए जिल्लामा मात्रै हैन प्रदेश र देशव्यापीनै बाध्य भएर आन्दोलन गर्ने कडा चेतावनी समेत उनले दिए ।

प्रतिक्रिया