नेपाली र इरानीको जमरामा केही समानता

काठमाडौंका नरेश श्रेष्ठ सन् १९९२ को मार्चमा पहिलोपटक इरानको तेहरानस्थित ससुराली पुगेका थिए । विवाहको करिब चार वर्षपछि फरक संस्कृतिको ससुराली देश पुगेको श्रेष्ठले आफ्नो ससुराली घरमा टेबलमा विभिन्न कुराहरूको साथमा जमरालाई पनि सजाएको देखे । उनीहरू त्यहाँ पुग्ने बित्तिकै नरेशकी पत्नी शोले मासूमपुरका मातापिता र मान्यजनहरूले उनीहरूका नाममा एक–एक वटा मैनबत्ती बाले र दीर्घायुको कामना गर्दे दुवैजनालाई दक्षिणा र आशीर्वाद दिए ।

धर्म र संस्कृति नै भिन्न भएको देशमा पुग्दा पनि नरेशलाई नेपाल छाडेको जस्तो अनुभूति भएन । उनलाई तेहरानस्थित आफ्नो ससुराली घरमा टीका नलगाइने दसैँ मनाइरहेको जस्तो लाग्यो । ‘इरान पुगेर त्यस्तो कुरा पहिलोपटक देख्दा मलाई निकै नै अनौठो लागेको थियो । मलाई त इरानीहरूले पनि दसैँ नै मान्छन् कि जस्तो लाग्यो,’ उनले भने ।

इरान पुगेपछि दसैँकै जस्तो चलन भएको कुन चाड रहेछ भन्ने खुलदुली मेटाउने क्रममा नरेशले त्यो इरानी नयाँ वर्ष अर्थात् नौरोज भएको थाहा पाए । कसैले नौरोज, कसैले नौरुज त कसैले नवरोज भन्ने उक्त पर्वमा नेपालको दसैँसँग मिल्ने मुख्य कुरा भनेको नै त्यसमा प्रयोग गरिने सब्जी भनिने जमरा हो । नरेशका अनुसार नौरोजमा ‘स’बाट नाम उच्चारण सुरु हुने विभिन्न सातखाले चिजहरू राखेर एउटा टेबल सजाइएको हुन्छ । त्यसलाई हाफ्सिन टेबल भनिन्छ र त्यसमा सब्जी अनिवार्य हुन्छ । तर इरानीहरूले सब्जी सजाउन मात्र प्रयोग गर्छन्, नेपालीले जस्तो लगाउँदैनन् ।

संयुक्त राष्ट्रसंघकोे शिक्षा, विज्ञान तथा संस्कृति संगठन युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको नौरोज इरानसहित युरेसियन र मध्य एसियाली देशहरूमा पनि मनाइन्छ । दक्षिण एसियाका अफगानिस्तान, पाकिस्तान, भारत र बंगलादेशका केही स्थानमा पनि नौरोज मनाइने युनेस्कोको आधिकारिक वेबसाइटमा उल्लेख छ । नौरोजमा नेपालमा जस्तो बालुवा वा माटोमा जमरा राख्ने चलन नभएको श्रेष्ठ बताउँछन् । ‘सुरुमा उनीहरूले जौलाई भिजाएर सेतो कपडामा पोको पार्छन् । केही दिनमा त्यो टुसाउन थाल्छ र डल्लो पर्छ,’ श्रेष्ठले भने, ‘त्यसलाई एउटा थालमा राख्छन् र त्यही त्यो बढ्न थाल्छ । नछोपिने हुनाले त्यो हरियो देखिन्छ ।’

युनेस्कोको आधिकारिक वेबसाइट र नौरोजबारे लेखिएका अन्य सन्दर्भ सामग्रीहरूमा जनाइए अनुसार नौरोज मनाउने तरिका पनि नेपालमा दसैँका बेला गरिने नवरात्री पूजासँग मिल्दोजुल्दो देखिएको छ । नौरोजका लागि तयार पारिने सब्जी अर्थात् जमरा पनि नौ दिन राखेर नै तयार पार्ने चलन रहेको छ । दशौँ दिन त्यसलाई एउटा टेबलमा सजाएर राखिन्छ । अनि आफन्तहरू कहाँ जाने र भोजभतेर गर्ने चलन हुन्छ । त्यसअघि दसैँको टीका जस्तै हाफ्सिन टेबल अगाडि गएर आएका आफन्तका नाममा मैनबत्ती बाल्ने गरिन्छ । दसैँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन चल्छ, तर नौरोज भने १३ दिनको हुने नेपालका लागि इरानका अवैतनिक महावाणिज्य दूतसमेत रहेका श्रेष्ठले जानकारी दिए । ‘१३ दिनका दिन त्यो जमरा पनि नजिकैको नदीमा लगेर हामीले कोजाग्रत पूर्णिमामा गरेको विसर्जनजस्तै विसर्जन गर्ने चलन रहेछ,’ उनले भने ।


नरेशले वर्णन गरेको नौरोज र नेपालको नवरात्रि पूजाको विवरण मिल्दोजुल्दो देखिएको छ । पूर्वीय धर्म र संस्कृतिको अध्ययन गरेका इतिहासकारहरू भन्छन, नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै सांस्कृतिक र धार्मिक प्रथाहरूको जरा खोज्दै जाने हो भने इरान–इराक वा आसपास पुग्ने गरेकाले जमराको चलन पनि उतैबाट आएको हुन सक्छ । युनिभर्सटी अफ अक्सफोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापक दिवाकर आचार्यका अनुसार दक्षिण एसियामा पश्चिमबाट पूर्वतर्फ सभ्यता सरेकाले जमरा पनि इरानबाट नेपाल आएको हुन सक्छ । उनी भन्छन्, ‘शतपथ ब्राह्मणमै हेर्ने हो भने पनि पश्चिमबाट पूर्वतर्फ अर्थात् अध्यारोबाट उज्यालोतर्फ सरेको भन्ने देखिन्छ । त्यसमा सुरुमा अग्नि त्यसपछि पुरोहित र अनि मिथी राजा पूर्वतर्फ लागेको भन्ने विवरण छ । जसको नामबाट पछि मिथिला बनेको हो । यस हिसाबले नेपालमा अहले चलनचल्तीमा रहेका धेरै कुराहरू पश्चिमबाट पूर्व नै सरेका हुन् ।’

उनी उहिलेको भारतवर्षभित्र इरान पनि पर्ने भएकाले धेरै संस्कृतिहरू मिल्ने दाबी गर्छन् । तर, अहिले राजनीतिक कारणले फरक देशहरू बनेको र ऋग्वेदिक धर्ममा धेरै परिवर्तन आएका कारण फरक देखिएको आचार्यले बताए । मुस्लिम धर्मको प्रभावसँगै धेरै कुराहरू हराए पनि पुरानो संस्कृतिका कतिपय कुराहरू अहिले पनि जीवित पाइने आचार्य बताउँछन् ।

आचार्यका अनुसार नेपालका लिच्छवीहरूको पुख्र्यौली थलो खोज्दै जाँदा सिरिया, इरान र इराकतिर पुग्ने गरेको छ । त्यसले पनि कतिपय सांस्कृतिक कुराहरू त्यताँबाट आएका थिए भन्ने देखाउँछ । दिवंगत भइसकेका भाषाशास्त्रका एक प्राध्यापक बालकृष्ण पोखरेलले विभिन्न भाषाका शब्दहरूको निर्वचनको अनुसन्धान र व्याख्या गरेर लेखेको खस जातिको इतिहासमा पनि नेपालका खसहरू इरान, इराक, सिरियातिरबाटै आएको लेखेका छन् ।

उनले त ऋग्वेदको रचना र दुर्गा वा देवीको परिकल्पना नै त्यस क्षेत्रमा भएको दाबी गरेका छन् । दुर्गाको परिकल्पना नै त्यस क्षेत्रमा भएको र दुर्गा उपासना त्यहीबाट सुरु भएको उनको तर्कले जमरा र नवरात्र विधि उतैबाट आएको देखाउन खोजको छ । वनस्पतविद् तीर्थबहादुर श्रेष्ठ चाहिँ जमराको चलन कहाँबाट सुरु भयो भन्ने बुझ्न जौको खेती कताबाट सुरु भयो भन्ने खोज्नुपर्ने बताउँछन् । उनका अनुसार जौको खेती अहिलेको इजिप्ट, इराक र इरानतिरबाटै भएको भन्ने आधार पाइएकाले जमराको चलन उतैबाट आएको हुन सक्छ ।

‘नेपालमा खेती हुने जौ उतैबाट आएको भन्ने लेखहरू भेटिन्छन् । रारा तालमा जापानीहरूले गरेको अनुसन्धानका क्रममा त्यहाँको पिँधमा रहेको माटोमा जौको परागकणहरू भेटिएको छ,’ उनले भने, ‘त्यसले पनि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् जगमान गुरूङ चाहिँ इरानतिरबाटै जमरा नेपाल आइपुगेको हो भनिहाल्न नसकिने बताउँछन् । (बिबिसी)

प्रतिक्रिया