माटोको ममता

नेपालीहरू विश्वका धेरै मुलुकमा पुगिसकेका छन् । स्वदेशभित्र रहने नेपालीको संख्या र स्वदेश बाहिर रहने नेपालीको संख्या करिबकरिब बराबर भइसकेको छ । विदेशमा जाने क्रम यसरी नै बढ्ने हो भने केही वर्ष भित्रै नेपाली स्वदेशमा भन्दा विदेशमा बढी हुन्छन् । आफ्ना देशका जनता यसरी बिदेसिनु कुनै पनि मुलुकका लागि राम्रो होइन, तर रोजगारीको क्षेत्र विस्तार हुन नसकेका कारण नेपालीका लागि भने विदेश भासिनु बाध्यता बनेको छ । तर, विदेश भासिए पनि नेपालीले आफ्नो मुलुकप्रतिको कर्तव्य भूलेका छैनन् । आफ्नो मातृभूमिप्रति अगाध स्नेह राखेको पाइन्छ ।

पुस्तौँ पुस्तादेखि भारतको दार्जीलिङ, कालिङ्पोङ लगायतका क्षेत्रमा बसोवास गर्दै आइरहेका नेपाली नागरिकताका हिसाबले भारतीय हुन्, तर आँफूलाई नेपालीका रूपमा चिनाउन गर्व गर्छन् । उनीहरूले नेपालप्रति दर्शाउने गरेको प्रेमलाई समेटेर राष्ट्रकवि माधवप्रसाद घिमिरेले गीत नै लेखेका थिए । ‘नेपाली हामी रहौँला कहाँ ? नेपालै नरहे…’ भन्ने गीत आज पनि निकै लोकप्रिय छ । यदि, नेपाल देश रहेन भने नेपालीका रूपमा कायम भएको आफ्नो पहिचानसमेत गुम्ने चिन्ता उनीहरूलाई छ ।

नेपालीहरू तीन वटा कारणले विदेशिएका छन् । पहिलो कारण हो, ‘सुगौली सन्धीमा नेपालको भूभाग अंग्रेजको स्वामित्वमा पुग्नु ।’ यसरी विदेशी भएका नेपालीलाई माटो सहितका नेपाली भन्ने गरिन्छ ।’ दोस्रो कारण, ‘रहर या वाध्यताका कारण विदेशमै स्थायी रूपमा बसाइ“ सरेका नागरिकका उहीँ जन्मेका सन्तती ।’ यसरी बिदेसिएका नेपालीलाई नेपाली डायस्पोरा भन्ने गरिन्छ । तेस्रो हो, ‘रोजगारीका लागि गएका ।’
सार्क मुलुकमा बाहेक, स्वास्थ्य उपचार तथा शिक्षा आर्जन गर्न गएका बाहेक र सरकारी कामको सिलसिलामा गएका बाहेक एक वर्षभन्दा बढी समयदेखि विदेशमा रह“दै आएका नेपालीलाई राज्यले गैरआवासीय नेपालीका रूपमा परिभाषित गरेको छ । गैरआवसीय नेपालीलाई पनि विभिन्न वर्गमा छुट्याइएको छ ।

गैरआवासीय नेपालीका निम्ति लामो समयसम्म कानुनी व्यवस्था थिएन । आजभन्दा १२ वर्षअघि अर्थात ०६५ साल असोज २५ गते गैरआवासीय नेपाली ऐन जारी भयो । ऐन जारी भएकै दिनलाई आधार बनाएर हरेक वर्ष असोज २५ गते विभिन्न समारोह गरेर गैर आवासीय नेपाली दिवस मनाउने गरिन्छ । विश्वका करिव १ सय ५० मुलुकमा रहेका नेपालीले भव्यताका साथ यो दिवस मनाउँछन् । तर यस वर्ष भने कोरोनाको कहरले गर्दा गैरआवासीय नेपाली दिवस खासै चर्चामा छैन ।

बसोवास जहाँ भए पनि, नागरिकता जुन देशको भए पनि आफ्नो पुख्र्यौली भूमिप्रति आगाध प्रेम गर्ने संस्कार नेपाली रगतमा देखिएको छ । कतिपय नेपालीले विदेशमा गएर निकै ठूलो उन्नती गरेका छन् । उनीहरूले गरेको त्यो उन्नतीको प्रतिफल नेपालले प्रचुर मात्रामा पाएको छ । उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेलगायत दर्जनौँ गैरआवासीय नेपाली छन् जसले आफ्नो पुख्र्यौली माटोप्रति अगाध ममता दर्शाएका छन् । यस सन्दर्भमा दुई वटा उदाहरण नै काफी छन् । विनोद चौधरी जो भारतीय मुलका हुन्, उनका बाजे एउटा लोटा र एक पोको कपडा लिएर राणाकालमा नेपाल छिरेका थिए, नेपालमै व्यवसाय गरेर चौधरी ग्रुप यतिबेला विश्वको अर्बपतिको सूचीमा पुगेको छ ।

यता शेष घले आजभन्दा ३५ वर्षअघि आफ्नी आमाले दिएको पछ्यौरा लिएर अस्ट्रेलिया गएका थिए । उनले त्यहाँ व्यवसाय गरेर धेरै सम्पत्ति जोडे । अब नेपालको सामाजिक काममा विनोद चौधरी र शेष घलेमध्ये योगदान कसको बढी छ ? तुलना गरौँ । आफ्नो माटोको माया कति विचित्रको हुँदो रहेछ भन्ने कुरा यो उदाहरणले प्रष्ट हुन्छ ।

प्रतिक्रिया