बन्यो रामायण भवन

तनहुँ । भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा रामायण भवन निर्माण कार्य सम्पन्न भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल रहेको उक्त स्थानमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको पर्यटन विभागको मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा करिब तीन करोडको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

नेपाली भाषामा रामायण लेखेर त्यसको महिमालाई जनस्तरसम्म पु¥याएका भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्यस्थलका रूपमा विकास गर्न भवन निर्माण गरिएको भानु नगरपालिकाले जनाएको छ । २०५२ सालमा सो समिति गठन गरिएको हो । नेपाल सरकारसँग समिति गठनका लागि पहल गरिए पनि समिति गठन हुन नसकेको भानु नगरपालिका–४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताए । उनले भानुभक्तको स्मृतिलाई चीरस्थायी बनाउने लक्ष्यका साथ भवन निर्माण गरिएको बताए । यसअघि सो संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकको रूपमा विभिन्न क्षेत्रका व्यक्तिलाई मनोनयन गर्दै आएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले समेत काम हेर्दै आएको बताइएको छ । भवन निर्माण पूरा भए पनि रामायणमा भएका श्लोकहरू, रामायणसम्बन्धी तस्बिर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

रामायण भवन कलात्मक ढंगले निर्माण गरिएको छ । भवनको बार्दली सालको काठ प्रयोग गरी निर्माण गरिएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले बताए । उनले भानु जन्मस्थल विकास समितिले भानु जन्मस्थल क्षेत्रमा निर्माण भएका र निर्माणधीन संरचनाको संरक्षण र सम्वद्र्धन गर्दै आएकामा हाल समितिविहीन भएकाले संरक्षण गर्न कठिनाइ भएको जानकारी दिए । उनले भने, ‘संरक्षण तथा पर्यटक गाइड पनि व्यवस्थापन गर्न थुप्रै जनशक्ति आवश्यक पर्छ, पालिकाले सिधैँ कर्मचारी भर्ना गर्न मिल्दैन ।’ संघीय सरकारको मातहतमा रहेको समिति विघटन भएकाले अहिले समितिविहीन अवस्थामा रहेको छ ।

रामायण भवन निर्माण गरिए पनि विघटित समितिको पुनःगठन हुन नसक्दा भवनका सामान चोरी हुने, आगलागी हुने लगायतका जोखिम रहेको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शंकर रानाभाटले भने । राष्ट्रिय विभूतिको सम्मान गर्न पनि संघीय सरकारले जिम्मा लिने गरी समिति गठन हुनुपर्नेमा नगरपालिकाले जोड दिँदै आएको छ । संघले प्रदेशलाई, प्रदेशले नगरपालिकालालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्च्याउने काम गर्न नहुने नगरप्रमुख गौलीले बताए ।

प्रतिक्रिया