चार वर्षपछि नाथेखोलामा पक्की पुल

सल्यान । निर्माण कार्य सुरु भएको चार वर्षपछि पक्की पुल निर्माण सम्पन्न भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–५ नाथेखोलामा विभिन्न विवादका बावजुद निर्माण कार्य सुरु भएको चार वर्षपछि पुल निर्माण सम्पन्न भएको हो ।  सल्लीबजार चौरजहारी सडकखण्डमा पर्ने नाथेखोलामा पुल निर्माणका लागि ०७३ साउनमा सम्झौता गरी ०७४ पुस मसान्तमा काम सम्पन्न गर्ने जिम्मा पाएको हरिहरि गजुरमुखी जेभीले जग्गा मुआब्जा विवादका कारण पुल निर्माण गर्न सकेको थिएन । स्थानीयले पुलले अधिग्रहण गर्ने जग्गाको मुआब्जा पाउनुपर्ने माग राख्दै पुल निर्माण कार्य अवरुद्ध गरेपछि निर्माण कार्यमा ढिलाइ भएको थियो ।  बनगाड कुपिण्डे नगरपालिकाले पुल निर्माण कार्यमा सहजीकरण गरेपछि पुलको बाँकी रहेको ५० प्रतिशत काम ६ महिनामा सम्पन्न गरी पुल सञ्चालनमा आएको बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार पुनले जानकारी दिए ।

पुल निर्माणका लागि विभिन्न सरोकारवालाहरूपक्षसँग छलफल गरे पनि स्थानीयहरूले मुआब्जा बुझ्न नमानेपछि नगरपालिकाले प्रहरी खटाएर पुल निर्माण कार्य सम्पन्न गरेको नगरप्रमुख पुनले बताए । ‘विवाद मिलानउका लागि विभिन्न सरोकालवालाहरूसँग पटकपटक पुल निर्माणस्थलमै छलफल गरियो तर स्थानीयले अवरोध गरेपछि प्रहरीले सुरक्षा दिएर कार्य सम्पन्न भएको छ’, नगरप्रमुख पुनले भने ।  करिब ४ करोड ७५ लाखमा सम्पन्न भएको पुल भनेकै समयमा पूरा गर्ने लक्ष भए पनि स्थानीयको अवरोधका कारण पुल निर्माण कार्य समयै गर्न नसकेको ठेकेदार हरिबहादुर रावतले जानकारी दिए । ‘पुल निर्माणका लागि हामीले अधिग्रहण गर्ने जग्गाको मुआब्जा सरकारी दरभाउअनुसार उपलव्ध गराउने हो तर स्थानीयले आपूmखुसी माग्ने गरेकाले उपलव्ध गराउन नसकिएको हो’, ठेकेदार रावतले भने ।

निर्माण कम्पनीले जग्गाको बाली उव्जनीवापत ८० हजार रुपैयाँ उपलव्ध गराइसकेको रावतको भनाई छ । ‘समयमै पुल निर्माण गर्नका लागि हामीले सबै निर्माण सामग्रीहरू पुल निर्माणस्थलमा ल्याइसकेका थियौँ निर्माण कार्यमा ढिलाइ हुँदा लाखौँको सामान हराएको तथा नष्ट भएको छ’, रावतले भने । पुल निर्माणकै क्रममा गएको भदौ १ गतेका दिन आएको बाढीले बेपत्ता बनाएका पुल निर्माणका कर्मचारीको शव अझै फेला पर्न सकेको छैन ।  जग्गा मुआब्जाका लागि सरकारी दरभाउअनुसार आएको ४६ हजार ५ सय जग्गाधनीले नबुझेपछि झन् विवाद मच्चिएको छ । पीडित परिवार भने क्षतिपूर्तिको माग गर्दै प्रहरी प्रशासनदेखि अदालतसम्म धाउन थालेका छन् ।

पीडित परिवारले अहिले उच्च अदालत सुर्खेतमा जिल्ला प्रशासन कार्यालय सल्यान, सडक डिभिजन कार्यालय दाङ, बनगाड कुपिण्डे नगरपालिका तथा नगर प्रमुख र निर्माण कम्पनीलाई बिपक्षी बनाएर मुद्दा हालेका छन् ।  पुल नहँुदा यहाँका नागरिकहरूले ठूलो सास्ती खेप्दै आएका थिए । हरेक वर्ष आउने बाढीले गर्दा आवातजावतसमेत बन्द हँुदै आएकोमा पुल निर्माण भएपछि सल्ली–चौरजहारी सडक खण्डमा बाहै्र महिना सवारी साधन चल्ने भएका छन् ।

प्रतिक्रिया