मुम्बईसंग राजस्थान हार्नुका यी कारण

दुवई । आईपीएलका सुरुवाती दुई खेलमा उत्कृष्ट सुरुवात गरेको राजस्थान रोयल्सले पछिल्लो तीन खेलमा भने लगातार पराजय भोगेको छ । आफ्नो पाँचौं खेलमा राजस्थान मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुन पुग्यो । यस जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लियो । उत्कृष्ट खेलाडीले रहेको राजस्थानले मैदानमा भने खासै प्रदर्शन गर्न सकेको छैन ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई लयमा देखिएको छ । तर, प्रतियोगितामा भने मुम्बईले हारबाट सुरुवात गरेको थियो । राजस्थानले सुरुवाती दुई खेलमा जित निकाल्दा धेरै जसोले प्रतियोगितामा अन्य टोलीलाई निकै नै चुनौती दिन सक्ने टोलीको रुपमा हेरेका थिए । तर, पछिल्लो तीन खेलमा त्यो मनसाय हराई दिएको छ । त्यसैले मुम्बईसँग राजस्थान हार्नुका तीन कारण यस्ता छन् ।

सूर्यकुमार यादवले आउनेबित्तिकै मैदानमा आक्रमक ब्याटिङको सुरुवात गरेका थिए । उनले राजस्थान रोयल्सका बलरलाई पिट्दै मुम्बईको विशाल स्कोर बनाउन ठूलो योगदान दिए । यसै पारीको मद्दतले मुम्बईले १९४ रनको लक्ष्य दिएको थियो । राजस्थान रोयल्सका बलर सूर्यकुमार यादवको विकेट लिन नसक्नु र सूर्यकुमारले ठूलो पारी खेल्नु राजस्थानको हारको एक कारण बन्न पुग्यो । सूर्यकुमार यादव अविजित ७९ रनको पारी खेलेका थिए ।

राजस्थान रोयल्सका लागि जोस बटलरबाहेक अन्य कुनै पनि खेलाडीले खासै क्रिजमा जमेर खेल्न सकेनन् । उनी एक्लैले ब्याटिङ गर्दै सर्वाधिक ७० रन जोडेका थिए । जुन तरिकामा मुम्बईका सूर्यकुमार यादवलाई साथ मिलेको थियो, त्यस्तै साथ बटलरले राजस्थानका खेलाडीबाट पाएनन् । त्यसैले खराब ब्याटिङकै कारण राजस्थान मुम्बईसँग पराजित हुन पुगेको हो ।

जसप्रित बुमराहको प्रदर्शन यस सिजन अहिलेसम्म खासै राम्रो हुन सकेको थिएन । तर, पहिलोपटक उनले आफ्नो उत्कृष्ट बलिङको क्षमता देखाए । उनले आफ्नो स्पेलको चार ओभरमा २० रन खर्चंदै राजस्थान रोयल्सका ४ ब्याट्सम्यानलाई पेभिलियन फर्काए । उनले राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथको समेत विकेट लिएका थिए । जसप्रित बुमराहको यो बलिङ स्पेल राजस्थानका लागि निकै नै भारी प¥यो ।

आश्विनको चेतावनी
दिल्ली क्यापिटलका स्पिनर रविचन्द्रन आश्विनले भारतीय प्रिमियर लिगको बाँकी खेलका लागि ब्याट्सम्यानहरुलाई ‘पहिलो र अन्तिम चेतावनी’ दिएका छन् । सोमबार रोयल च्यालेन्जर बैंगलोरविरुद्धको म्याचमा उनले अस्ट्रेलियन ब्याट्सम्यान आरोन फिन्चलाई रनआउटको मौका पाएर पनि जीवनदान दिएका थिए ।

आश्विनले बल फाल्नु अगावै फिन्च क्रिजबाट बाहिर निस्केकाले उनलाई रनआउट गर्ने अवसर आश्विनलाई थियो । ठिक त्यस्तै अवसर, जुन अघिल्लो आइपीएलमा पनि उनलाई प्राप्त भएको थियो । त्यसमा उनले ईंग्ल्यान्डका ब्याट्सम्यान जोस बटलरलाई आउट गर्ने मौका गुमाएनन् । तर, यसपालि चाहिँ उनले उल्टो गरे ।

खेल सकिएपछि आश्विनले यसबारे मुख खोलेका छन् । ‘म २०२० का लागि पहिलो र अन्तिम चेतावनी दिँदैछु । पछि मलाई दोष दिन पाइँदैन,’ उनले भनेका छन् । दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले प्रतियोगिता अगाडि नै आश्विनले बटलरलाई आउट गरेजस्तो तरिका आफ्नो टिमबाट खेल्दा नगर्न भनेका थिए । प्रशिक्षकको निर्देशन मान्दै आश्विनले फिन्चलाई जोगाएका हुन् । तर अब भने अरुलाई नजोगाउने उनले बताएका छन् । हिजोको म्याचमा दिल्लीले आरसीबीलाई पराजित गरेको थियो ।

प्रतिक्रिया