लघुकथा ‘पत्रकारको खेती’

       डा. पुष्करराज भट्ट

कोरोनाका कारण लकडाउन लगाइएको थियो । हामी चोकमा बसेर सवारीसाधन जाँच गरिरहेका थियौँ, अचानक मोटरसाइकल र मोटरको भीड आइरहेको देखियो । सिट्टी बजाएर रोक्यौँ । ‘यस्तो लकडाउनको बेला तपाईँहरु यसरी कता जान लागेको ?’ मैले त्यहाँ रहेका दुई चार जनालाई सोधेँ ।

‘म पत्रकार हुँ, म बिरामी भेटन अस्पताल जान लागेको ?’ एउटाले भन्यो । ‘म पत्रकार हुँ, म जरुरी काम परेर घर जान लगेको ?’ दोस्रोले भन्यो । ‘म पत्रकार हुँ, म बिरामी भेटन ससुराली घर जान लगेको ?’ तेस्रोले भन्यो । यसरी आफूलाई पत्रकार भन्ने र जरुरी कामको बाहना बनाउनेको संख्या धेरै देखिएको छ । दिनभरिमा पचास जनाले पत्रकारको कार्ड देखाइसके ।

‘हैन, यो पत्रकारको खेती कहाँ हुँदैछ ?’ सँगै रहेको साथीले गुनासो गर्यो । ‘पत्रकारको खेती ?’ मलाई यो शब्द सुनेर अचम्म लाग्यो । ‘जसको हातमा पनि पत्रकारको कार्ड छ । सक्कली, नक्कली छुट्याउन गाह्रो भइसक्यो । कार्ड उस्तैउस्तै देखिन्छन् । मानिस हेर्दा पत्रकारजस्तो लाग्दैन, कार्ड पत्रकारको भिरेको छ, केही भइरहेछ, म त केही भन्न सक्ने अवस्थामा छैन ।’

मजस्तै ट्रफिक साथी चिन्तित देखियो । ‘त्यही त भनेको, मलाई पनि त्यस्ता कार्ड बोकेका मानिसको भीड थाम्न गाह्रो भइसक्यो ।’ मैले पनि आफ्नो पीडा पोखेँ । दिउँसोको ड्युटी सकेर कोठामा के फर्केको थिएँ, टेलिभिजनमा आइरेको एक समाचारमा आँखा र कान दुवै सोधिए । ‘पत्रकारको कार्ड बनाएर बेच्ने गिरोह ग्राहकसितै पक्राउ ।’

प्रतिक्रिया