साहित्य

लघुकथा ‘बालकपन’

शेखर अर्याल २०७७ असोज १७ गते १४:०१ मा प्रकाशित

        शेखर अर्याल

पहाडको खोचमा आङ्दाको घर थियो । चारैतिरबाट हरियालीले घेरेको, अगाडि हिमालका चुचुरा देखिने । वर्षाको समय, मुसलधारे पानी पर्यो । आङ्दा मामाघरबाट फकिँदा नजिकैको घरलाई नदीले डाकेको देख्यो । मिङ्मा टोलाएर बसेकी थिई । बारीमा मानिस जम्मा थिए । खोलानाला धमिला, क्रन्दन आवाज, यस्तो दृश्यले आङ्दाको मन भारी भयो ।

‘खै ! मिङ्माको घर ? खै ! उसका पाठापाठी ? खै ! परिवारका सदस्य ? कहाँ पुगे उसका रहर ?” यस्तै प्रश्न उब्जे उसमा । आङ्दाले सोध्यो –‘बाबा ! के मिङ्मालाई बालग्रह लागेको हो ?’ ‘होइन बाबु, यो त प्रकृतिको खेल हो । जहाँ कहीँ आउन सक्छ ।’ ‘के प्रकृतिले बालबच्चालाई हेर्दैन ?’ बाबाको मन भारी भयो ।

‘हेर्छ, तर मिङ्माको अवस्था कारुणिक बन्यो ।’ उनका आँखा रसाए । सञ्चारले मिङ्माको बारेमा प्रचारप्रसार गर्यो तर खोचमा बत्ती बलेन । उसका दुईचार हप्ता यसरी नै बिते । ‘मिङ्मा ! अब तिमी मसँगै स्कुल जाने है ?’ आङ्दाले भन्यो । ‘नगए के गर्नु आङ्दा, मेरो यस्तै हालत भो ।

ती रहर त्यो बालकपन आखिर …. यस्तै त हो ।’ उनको गला अवरुद्ध भो । ‘त्यसो नभन, तिमीलाई यहाँ रहन मन नलागे पर्सि बालदिवसमा मैले यो कुरा उठाउने छु ।’ यस प्रश्नले मिङ्माको रङ फेरियो । आङ्दा र मिङ्मा विद्यालय पुगे । कार्यक्रम सुरु भयो । बालबालिकाका अधिकारका विषय उठे । बालबालिकाका केही गुनासा भए बताउन आग्रह गरियो । आङ्दा मञ्चमा गए ।

हातमा माइक समाउँदै– ‘उपस्थित सम्पूर्णमा नमस्कार, बालबालिकाका कुरा उठ्दा खुसी लाग्यो । म एउटा प्रश्न राख्न चाहन्छु, गाउँमा आएको बाढीपहिरोले मिङ्मालाई एक्लो बनायो । के तपाइँको संस्थाले सहयोग गर्न सक्छ ? सक्छ भने जवाफ दिनुहोला ।’ उनी आँखा पुछ्दै मञ्चबाट विदा भए । एक भलाद्मीले माइक समाए । सबैलाई सम्बोधन गर्दै– ‘हाम्रो बालमन्दिर, बालघर यस्तै सहयोगका लागि स्थापना भएको हो ।’ उनको अनुहारमा चमक आयो । गाडी चल्यो, आङ्दालाई मिङ्माले हात हल्लाइन् । उनको मन उही बालकपनमा रुमलिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय