प्राकृतिक चिकित्सालयलाई स्वास्थ्य सामाग्री प्रदान

कावासोती । नवलपुरको रहजर स्थित प्राकृतिक चिकित्सालयलाई सहमति संस्था गैडाकोटले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । लुथरन वर्ल्ड रिलिफको सहयोगमा सहमति गैंडाकोटले प्राकृतिक चिकित्सालयको इमरजेन्सी कक्षका लागि ७ थान आधुनिक अस्पताल वेड सहित २ लाख ४१ हजार ३ सय ९४ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

लुथरनसँगको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य तथा जीविकोपार्जन सहयोग परियोजना अन्तर्गत उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको सहमति गैंडाकोटका अध्यक्ष करुणसागर सुवेदीले जानकारी दिए ।

अस्पताललाई ७ थान अस्पताल बेड सहित ६ थान अक्सिजन सिलिण्डर र ६ थान अक्सिजन कनेक्सन सेट प्रदान गरिएको सुवेदीले बताए ।

बुधबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले चिकित्सालयका अध्यक्ष सन्त वहादुर क्षेत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पंगेनीले चिकित्सालयमा संचालित कोरोना अस्थायी अस्पतालले कोरोना संक्रमितलाई निको पार्न उत्कृष्ट कार्य गरिरहेको भन्दै अस्पतालको प्रशंसा गरिन।

साथै उनले नेपालकै उत्कृष्ट आइसोलेसनको पहिचानलाई थप उचाईमा पुर्याउन अस्पतालको इमरजेन्सी कक्षका लागि अत्यावश्यक सामाग्री सहयोग गरेकोमा सहमति गैंडाकोटप्रति आभार व्यक्त गरिन् । उक्त अस्पतालबाट बुधबार सम्म ५ सय २७ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने ८४ जना संक्रमितहरु उपचाररत रहेका छन् ।

प्रतिक्रिया