हिजोआज बत्ती किन जान्छ

नेपाल विद्युत् प्राधिकरणले मर्मतसम्भार गर्ने भन्दै ठाउँठाउँमा केही समयका लागि बिजुली काट्ने गरिएको सूचना दिने गरेको छ । प्राधिकरणका अनुसार पछिल्लोपटक मंगलबार भूमिगत तार फेर्न भन्दै काठमाडौंका बानेश्वर र सिंहदरबार क्षेत्र लगायतका स्थानमा बिहान ७ बजेदेखि ९ः३० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । आइतबार काठमाडौंकै लैनचौरस्थित प्राधिकरणको सबस्टेसनको एउटा प्यानल बोर्डभित्र छिरेर मुसाले तार काटिदिएपछि विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको समाचारले निकै चर्चा पायो । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसलाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बहिर्गमनपछि फेरि लोडसेडिङ हुने पूर्वसंकेत पो हो कि भनेर आशंकासमेत व्यक्त गरे ।

तर, प्राधिकरणका अधिकारीहरू त्यस्तो अवस्था नरहेको बताउँछन् । प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले भनिन्, ‘त्यस्तो केही होइन अहिले ‘स्याल कराउनु, कुखुरा हराउनु’ जस्तै भएको हो ।’ विद्युत् व्यवस्थापनका लागि धेरैबाट प्रशंसा बटुलेका पूर्वकार्यकारी निर्देशक घिसिङले गत २९ भदौबाट प्राधिकरणको चार वर्षे नेतृत्वबाट अवकाश पाएका थिए । केही दिनअघि पनि प्राधिकरणले लोडसेडिङलाई लिएर भइरहेका अड्कलबाजी तथा टीकाटिप्पणीबारे एउटा विज्ञप्तिमार्फत् आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

‘नियमित रूपमा गर्नुपर्ने मर्मतसम्भार तथा प्रणालीमा सुधारको कार्य गर्नुपर्दा विद्युत् आपूर्ति विच्छेद गर्नुपर्ने भएकोले यस्तो अवस्थामा विद्युत् आपूर्तिमा निर्धारित समयसम्म अवरोध हुने गर्छ ।’ ‘यदाकदा विद्युत् आपूर्तिमा आउने अवरोधलाई जोडी अब लोडसेडिङ हुन थाल्यो भन्नेजस्ता अफवाह सुनिने गरेको’ भन्दै प्राधिकरणले त्यसमा कुनै सत्यता नभएको जनाएको थियो । अधिकारीहरूका अनुसार कहिले हावाहुरी र वर्षाका कारण बिजुलीको खम्बा ढल्दा त कहिले ट्रान्सफर्मर पड्केर पनि विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ । मर्मतसम्भारका लागि प्राधिकरण स्वयंले पनि समय निर्धारण गरी बिजुली काट्ने गर्छ । तर, त्यसबाहेक बेलाबखत मुसा पनि नियमित बिजुली आपूर्तिमा ‘खलपात्र’को रूपमा देखिने गरेको प्राधिकरणका अधिकारीहरू सुनाउँछन् ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने, ‘एउटा कुरा मुसाले तार काटिदिँदा लाइन विच्छेद हुन्छ भने अर्को कुरा मुसाले तार काट्दा दुइटा तार जुध्यो भने स्पार्क भएर समस्या आइदिन्छ ।’ उनका अनुसार बेलाबेला बत्ती जानुको कारण यो पनि हो । उनका अनुसार मुख्य तारका साथै प्यानल बोर्डमा रहेका उपकरणका सहायक तारहरू मुसाले काट्ने गरेका उदाहरण छन् । हुन त मुसाहरू प्यानल बोर्डसम्म ठ्याक्कै कसरी पुग्छन् भने कुरा भन्न नसकिने प्राधिकरणका अधिकारीहरू बताउँछन्, तर सम्भावित केही अवस्थाचाहिँ औँल्याउँछ । ‘प्यानल बोर्डहरू दराजजस्तै हुन्छन्, कहिलेकाहीँ प्राविधिकहरू त्यसलाई बन्द गर्न बिर्सिंदा मुसा पसेको हुनसक्छ ।’ ‘अर्को कुरा प्यानल बोर्डभित्र पनि विभिन्न ससाना इलेक्ट्रिक इक्विपमेन्टहरू हुन्छन् । त्यससम्म तार पु¥याउन प्वाल चाहिन्छ । शायद त्यहीँबाट पनि मुसाहरू भित्र छिरेको हुनसक्छ,’ तिम्सिनाले थप प्रष्ट पारे ।

उनका अनुसार सबस्टेसनमा स्पार्क हुँदा अथवा आगो लाग्दा त्यहीँबाट थाहा हुन्छ भने प्रसारण लाइनको हकमा फल्ट डिटेक्टरको माध्यमबाट पत्ता लगाई मर्मतसम्भार गर्ने गरिन्छ । एउटा प्यानल बोर्डमा मुसाले तारे काट्दा आइतबार काठमाडौंका धेरै स्थानमा बिजुली आपूर्ति अवरुद्ध भएको खबर सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा त्यसबारे विभिन्न टीकाटिप्पणी भए । धेरैले नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनलाई लिएर कटाक्ष गरेको देखियो । अर्का प्रयोगकर्ता मदनकुमार खरेलले मुसा आतंक बढेको भन्दै व्यंग्य गरेका थिए ।  कतिपयले हाल रातीको समयमा उत्पादित बिजुलीमध्ये ठूलो मात्रा प्रयोग हुन नपाएर खेर गइरहेको बताउने गरेकोमा प्राधिकरणका अधिकारीहरूले लक डाउनका बेला त्यो अवस्था देखिए पनि अहिले त्यस्तो नरहेको बताएका छन् । (बिबिसी)

प्रतिक्रिया