‘ए मेरो हजुर ४’ को छायांकन

काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि स्थगित चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन हुने भएको छ । निर्माण पक्षले शुक्रबारदेखि छायांकनमा जाने तयारी गरेको हो । अभिनेत्री झरना थापा निर्देशन गरेको यो चलचित्रको ५० प्रतिशत छायांकन बन्दाबन्दीअघि नै सकिएको थियो । निर्माता सुनिलकुमार थापाका अनुसार बाँकी ५० प्रतिशत छायांकन गर्ने तयारीमा निर्माण पक्ष जुटेको हो ।

उनले भने, ‘गीत छाडेर करिब १५ दिनमा अरु छायांकन सकिने तयारीमा हामी जुटेका छौं । काठमाडौंभित्रका लोकेसनमा गीतबाहेक सबै काम सक्छौ । गीतको छायांकन पछि गर्ने तयारी गरेका छौ ।’ चलचित्रमा अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई यो वर्षको दशैंमा रिलिज गर्ने निर्माण पक्षको तयारी थियो । निर्माता थापाले कोरोना भाइरसका कारण यो सम्भव हुन नसकेको बताए ।

यसैविच, चलचित्रमा गायक दुर्गेश थापालाई यसको निर्माण पक्षले अनुबन्धित गरेको छ । निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र कोरियोग्राफर रामजी लामिछानेले दुर्गेससँग आज भेट गरेका हुन् । दुर्गेशको विषयमा निर्माता थापाले भने, ‘हामीलाई गीत पनि गाउने र अभिनय पनि गर्ने एक जना गायकको आवश्यकता थियो । दुर्गेससँग केही समयदेखि कुरा भैरहेपनि आज संझौता भएको हो । चलचित्रमा पनि दुर्गेस आफ्नै परिचयमा देखिनेछन् । चलचित्रमा एउटा गीत र केही दृश्यमा दुर्गेस देखिनेछन् ।’ यसअघि गायक थापाले चलचित्र ‘छ माया छपक्कै’ को एउटा प्रमोशन गीत गाएका थिए भने सो गीतमा अभिनय पनि गरेका थिए ।

प्रतिक्रिया