‘अवैधानिक’ पञ्चायतीको प्रपञ्चमा परेका तराईका निमुखाहरू झनै पीडामा’

काठमाडौं । बाराको सुवर्ण गाउँपालिका–५ औरैया गाउँमा १ असोजमा १२ वर्षीया बालिकामाथि बलात्कारको घटना भयो । एक युवक आरोपित थिए । घटना लुकाउन त्यहाँका वडाध्यक्ष रामएकवाल साहले पञ्चायत बोलाएर घटना लुकाउन खोजे ।  बस्तीभन्दा पर रहेको गोठमा बसेका परिवारका सदस्यलाई बेलुकीको खाना खुवाएर फर्किंदै गर्दा ती बालिकालाई युवकले बलात्कार गरेको बालिकाले प्रहरीसमक्ष वयान नै दिएकी छन् । घटनाको तेस्रो दिन ३ असोजमा वडाध्यक्ष कलवारले पञ्चायती गरेर ढाकछोप गर्न खोज्दा विवाद चुलियो । युवाको समूहले ५० वर्षीय वडाध्यक्ष कलवारमाथि पञ्चायतीमै हातपात गरे । वडाध्यक्ष कलवार त्यहाँबाट भागेपछि बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

सिराहामा सीमावर्ती भारतीय गाउँ तोरियाहीबाट आएका झाँक्रीले स्थानीय महिला मूर्तिदेवी बोक्सी भएको ठहर गरेपछि पञ्चायती बोलाइयो । नवराजपुर गाउँपालिका–५ कुर्सन्डास्थित शिव मन्दिरमा गाउँका अगुवाको पञ्चायती बस्यो । स्थानीय धर्मनाथ यादवकी छोरी बिरामी भएपछि ती महिलालाई दोषी ठहर गर्दै सजाय दिन र गाउँमा सुख, शान्ति स्थापना गर्न पञ्चायती बोलाइएको थियो ।
मन्दिरमा भेला भएका करिब ५० जनाले ती महिलालाई मध्यराती १२ बजेतिर घरबाट लिएर आएका थिए । पञ्चायतीले निर्णय सुनाउनु अगावै उनलाई कुटपिट सुरु भइसकेको थियो । रक्ताम्य हुने गरेर कुटपिट गरेपछि उनलाई मलमूत्रसमेत खुवाइयो ।

सप्तरीकी एक १७ वर्षीया किशोरी सामूहिक बलात्कारमा परिन् । डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया संगिता मण्डलको स्थानीय चार युवाले सामूहिक बलात्कार गरेका थिए । धानखेतमा लगाएको पानी हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताएकी छिन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध उजुरी दिन प्रहरी कार्यालय जान खोज्दा पञ्चायतीको भेलाले रोकेका थिए ।
त्यसपछि घटनालाई लुकाउन र गाउँमै मिलाउन गाउँको पञ्चायती बस्यो । चार जनाले बलात्कार गरेको पञ्चायतीले स्वीकार गर्दै जनही २५ हजार युवतीलाई दिन र घटना त्यही मिलाउने निर्णय ग¥यो । घटनाबाट निक्कै विक्षिप्त भएकी संगिताले झुण्डिएर आत्महत्या गरेपछि घटना बाहिर आयो । गाउँका भद्रभलाद्मी समेतले पञ्चकै पक्षमा लागेर प्रहरीमा उजुरी गर्न नदिएर रकममा मेलमिलाप गर्न दबाब दिएपछि उनले आत्महत्या गरेकी हुन् ।

तराईका जिल्लाहरूमा पञ्चायती बस्ने घटना नौलो होइन । यो निक्कै पुरानो चलन हो । राणाकालदेखि नै गाउँका ‘ठूलाबडा’ को रोहबरमा घटनाहरू मिलाउने गरिन्थ्यो । पञ्चायतकालमा गाउँका मुखियाले अधिकांश मुद्दाहरू दुवै पक्षलाई राखेर मिलाउने गर्थे । त्यसैलाई पञ्चायती भनिन थालिएको हो ।

गाउँका ‘ठूलाबडा’ को रोहबरमा मुद्दा–मामिला र घटनाहरू गाउँमै मिलाउने राणाकालदेखिको यो चलन मधेसमा अझै छ । गाउँका सामान्य घटनाहरू पञ्चयतीले मिलाउने गरेका थिए । जहाँ प्रायः पीडितले होइन टाठाबाठा, धनीमानी र पहुँचवालाले ‘न्याय’ पाउँछन् । अधिकांश निर्णय पीडितको विपक्षमा हुन्छन् । गम्भीर प्रकारका अपराधमा पनि पीडितका पक्षमा निर्णय भइहाले सामान्य रकम तिर्न लगाइन्छ ।
तराईका गाउँका बासिन्दा प्रहरी प्रशासनभन्दा पनि पञ्चायतीकै बढी भर पर्ने गरेका छन् । जसले पञ्चायतीका विरुद्धमा बोल्न खोज्छ उसलाई गाउँ निकाला गर्नेदेखि डर, धाकधम्की देखाएर चुप लगाउने गरिन्छ । यस्ता अवैध गतिविधिमा प्रहरी–प्रशासनको समेत साथ देखिन्छ । तराईका केही जिल्लामा रहेका प्रहरी कार्यालयले सकेसम्म यस्ता घटना पञ्चायतीकै भेलाबाट टुंगो लगाउने प्रयास गरेको पनि पटकपटक सार्वजनिक भइसकेका छन् ।

मधेसका हरेक जातीय समुदायमा मुख्य व्यक्ति ‘माइनजन’ हुन्छन । टोल, बस्तीका ती व्यक्तिले जातीय समुदायको जन्म, विवाह, मृत्यु संस्कारदेखि भोजभतेरका बारेमा निर्णय सुनाउँछन् । उसले सुनाएको निर्णय ती समुदायमा सबैले पालना गर्नु अनिवार्य हुन्छ । यस्ता निर्णय उक्त समुदायमा कानुनसरह लागू हुन्छ । मधेसका दलित मुसहर, चमार, डोम, पासवानदेखि यादव, महतो, हलुवाई, सुडी, कुर्मीलगायत तराईका अधिकांश जातिमा माइनजन प्रथा कायम छ । जसले गर्दा रुढीबादी संस्कारले निरन्तरता पाएको छ भने पीडितले न्याय भने पाउन सकेको देखिँदैन ।
कानुनले भने कुनै पनि पञ्चायतीलाई सजाय तोक्ने अधिकार दिएको छैन । स्थानीय सरकारलाई केही सीमा तोकेर फैसला गर्ने अधिकार भने दिएको छ । पालिकाका उपप्रमुख वा उपाध्यक्षलाई कानुनी इजलास चलाउने अधिकार दिए पनि पञ्चायतीमा कतिपय जनप्रतिनिधि नै सहभागी हुने गरेका घटनाहरू सार्वजनिक भइसकेका छन् । जसले गर्दा पञ्चायतीको आडमा कानुन हातमा लिनेको मनोबल झनै बढेको छ । एक तंथ्याकअनुसार तराईमा हुने विभिन्न किसिमका हिंसामध्ये करिब ३० देखि ४० प्रतिशत पञ्चायतीबाटै टुंगो लगाउने गरिएको छ ।

प्रहरी नै पञ्चायतीको पक्षमा
सप्तरीको तिरहुत गाउँपालिका–५ बुधेवाकी ७० वर्षीया शान्तिदेवी सेठलाई साउनको अन्तिम साता छिमेकमा बस्ने बाबुछोरा मिलेर कुटपिट गरे । छोराबुहारी राजविराज बसिरहेकाले गाउँको घरमा एक्लै बस्दै आएकी सेठले छिमेकीबाटै कुटिएपछि प्रहरी कार्यालयमा उजुरी दिइन् । आरोपितलाई प्रहरीले पक्राउ गरेको छैन । सेठलाई गाउँकै लोहजरास्थित प्रहरीचौकीमा गएर पञ्चायती गर्न प्रहरीले नै दबाब दिइरहेको छ ।
यस्तै, हुलाकी राजमार्गअन्तर्गत नक्साविपरीत काम भएर आफ्नो जग्गा मिचिएको भन्दै बोदेबरसाइन नगरपालिका–९ का नरेन्द्रनारायण साहुले उच्च अदालत राजविराजमा परमादेश माग्दै निवेदन दिए । अदालतले उनको पक्षमा परमादेश निषेधाज्ञा जारी ग¥यो । उच्चको आदेश लिएर उनी निर्माणस्थलमा जाँदा कुटिए । घटनाको तीन महिना यता उनी प्रहरी कार्यालयमा कुटपिट गर्नेमाथि कारबाही गरियोस् भन्दै धाइरहेका छन् । ‘प्रहरीले पञ्चायतीमाथि पञ्चायती गरिरहेको छ,’ उनले भने, ‘म कानुनी कारबाही माग्छु प्रहरीले पञ्चायती गर भन्छ ।’

पीडितलाई पञ्चायतीका नाममा गलाउने दुष्प्रयास गर्न नहुने अधिकारकर्मीहरूको भनाइ छ । पञ्चायती समाजले सामान्य विवाद मिलाउन र गाउँले जुटेर काम गर्ने प्रयोजनका लागि हुनुपर्ने उनीहरूको धारणा छ । तर, प्रहरी प्रशासन नै पञ्चायतीको पक्षमा उभिएपछि तराईमा यसको आडमा निक्कै गम्भीर प्रकृतिका अपराध लुकाउने कामसमेत हुने गरेको बताउँछन् ।

प्रतिक्रिया