किशोर श्रेष्ठद्वारा प्रेस काउन्सिलको अध्यक्षबाट राजीनामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् । ३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । २०६२/६३ को आन्दोलनपश्चात प्रेस काउन्सिलको सदस्यका रूपमा नियुक्त श्रेष्ठलाई सरकारले पटक पटक सदस्यमा नियुक्त गरेको थियो ।

काउन्सिलको एक कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहने छन् । श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदैछ । सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

‘तीन वर्षदेखि पदीय हिसाबले कार्यकारी भूमिका निर्वाह गरेको अवधि तपाईं–हाम्रा निम्ति कठिन थियो’ राजीनामापत्रमा भनिएको छ, ‘प्रेस काउन्सिल मात्र होइन, समग्र पत्रकारिता जगतको स्वतन्त्रताको जगेर्ना र हित प्रवद्र्धनमा सुरुदेखि नै सङ्घर्ष गर्दै आउनुपरेको क्षण अत्यन्तै रोमाञ्चक र चुनौतीपूर्ण रह्यो ।’

कार्यवाहक अध्यक्ष श्रेष्ठले पदमा रहँदा सरकार र साथीसँगै स्वायत्तताको निम्ति लडाइँ लड्नुपरेको बताएका छन् । ‘बीचका केही वर्ष आफ्नै साथी, सहकर्मी र नेपाल सरकारसँग संस्थाको स्वायत्तताको निम्ति कठोर लडाइँ लड्नुपरेको सर्वविदितै छ,’ राजीनामापत्रमा भनिएको छ । उनले संस्थामा रहँदा निर्वाह गरेको भूमिकाप्रति कुनै पश्चाताप नरहेको भन्दै यसबीचमा काउन्सिलको प्रभाव विस्तार देशको पूर्वको ताप्लेजुङदेखि पश्चिमको दाचुर्लासम्म पुगेको र विश्वका अनेक महादेशसम्म सम्पर्क सम्बन्ध विस्तार गर्न सफलता मिलेको बताए ।

 

 

प्रतिक्रिया