आइसोलेसनमा भन्दा घरमा संक्रमित बढी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा तयार गरेको आइसोलेसनका श्ययाहरू खालीजस्तै छन् । ठूलो संख्यामा संक्रमितहरू सरकारी आइसोलेसनमा छैनन् । धनगढीमा हालसम्म १ सय ७४ महिला र ३ सय ३६ पुरुष गरी ५ सय १० जना कोरोना संक्रमित छन् । ३ सय ७२ जना निको भइसकेको स्वास्थ्य शाखाले जनाएको छ । दुई जना संक्रमितको मृत्युसमेत भइसेकेको छ ।

अहिले धनगढी उपमहानगरपालिकामा १ सय ४१ जना सक्रिय संक्रमित छन् । तर, उनीहरू सरकारी आइसोलेसनभन्दा बढी घरमै बसिरहेका छन् । आइसोलेसनभन्दा घरमा धेरै संक्रमितहरू रहेकाले जिल्लामा कोरोना संक्रमण फैलिने हो कि भन्ने चिन्ता स्वास्थ्य अधिकारीहरूलाई छ ।
धनगढीमा स्थानीय तहले दुई वटा आइसोलेसन बनाएका छन् । प्रदेश सरकारले एउटा कोरोना अस्पताल तयार पारेको छ । धनगढी उपमहानगरपालिकाले वडा–१५ कनरीमा तयार पारेको दुई सय बढी क्षमताको आइसोलेसन कक्षमा हाल ३६ जना मात्रै संक्रमित छन् ।  अन्य ७४ जना होमआइसुलेसनमा रहेको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए । ‘सरकारको कार्य विधिअनुसार होम आइसोलेसनमा बस्न भनेको छ,’ उनले भने, ‘होम आइसोलेसनमा बसेकाहरूले सुरक्षाको मापदण्ड नअपनाउँदा समुदायमा कोरोना संक्रमण बढ्न सक्ने खतरायुक्त रहेको बताए ।’

धनगढी उपमहानगरपालिकाको आफ्नै दुई सय बेड बराबरको आइसोलेसन भए पनि अहिले अधिकांश कोरोना सक्रमितहरू होमआइसुलेसनमै बस्दै आएका छन् ।  कैलाली जिल्लामा हालसम्म २ हजार १ सय ९५ जना कोरोना संक्रमित रहेका छन् । हाल ३ सय ५२ जना संक्रमित मध्ये ९० जना सरकारी आइसोलेसनमा र १ सय ५३ जना होमआइसुलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । होमआइसुलेसनमा रहेका संक्रमितहरूले मापदण्ड पूरा नगर्दा जिल्ला नै खतरायुक्त हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले बताए ।

कोरोना परीक्षणको दायरा बढाएर मात्रै कोरोना नियन्त्रणमा नआउने कतिपय चिकिसकहरूको तर्क छ । परीक्षणको दायराभन्दा व्यक्तिले सुरक्षाका मापदण्ड अपनाउन आवश्यक रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
कोरोना परीक्षणको दायरा बढाएर भन्दै प्रदेशमा पिसिआर मेसिन थप गरिएको छ । तर, अझैसम्म न परीक्षणको दायरा बढेको छ न त कोरोना नियन्त्रणमा आएको छ । यस्तो अवस्थामा सरकारी कार्यालयहरूमा थप भिडभाड बढेको छ । जसका कारण थप खतराको संकेत देखिएको छ ।

प्रतिक्रिया