बारामा निषेधाज्ञा हट्यो

बारा । जिल्लामा लगाइएको निशेधाज्ञा हटाइएको छ । जिल्लामा कोरोना संक्रमितहरूको सख्यामा कमी आएकोले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लागू गरिएको निशेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । गत १८ साउनबाट जारी गरिएको निशेधाज्ञा १ असोजसम्म लागू गरिएको थियो । प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लामा अब सबै सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाहरू, सबै प्रकारका पसल, व्यवसायहरू, उद्योग प्रतिष्ठानहरू, सेवाहरू, बैक, बिमा तथा वित्तिय संस्थाहरू र नेपाल सरकारले तोकेको सर्त बमोजिमको यातायात सेवाहरू सञ्चालन गर्न आग्रह गरेको छ ।

निषेधाज्ञा हटाइए पनि जिल्लामा सभा समारोह, भेला र ¥याली लगायतको काम बन्देज गरिएको छ भने मठ, मन्दिर, स्कुल, विद्यालय, कलेज खुल्न प्रतिबन्ध लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् । संक्रमण अझै पनि फैलिन सक्ने संभावना रहेकाले विक्रेता तथा उपभोक्ताहरूले स्वास्थ्य सुरक्षाको साधनहरूको प्रयोग गर्ने र अनिवार्य रूपमा कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया