‘सही विज्ञको पहिचान हुन आवश्यक छ’

मुकेश मल्ल, कलाकार तथा कला समीक्षक, विगत चार दशकदेखि कलाकारिता, लेखन तथा कलाको संस्थागत विकासमा सक्रिय हुनुहुन्छ । कलासम्बन्धी एक दर्जन पुस्तक लेखिसक्नुभएका मल्लको हालै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट ‘उत्तम नेपाली नेपाली आधुनिक कलाको बलियो स्तम्भ’ पुस्तक प्रकाशित भएको छ । मल्लसँग उक्त पुस्तक, नेपाली कला र कलालेखनका विषयमा केन्द्रित रही सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको कुराकानीः

० यहाँको पछिल्लो पुस्तकका बारेमा वताइदिनोस् न ।
पछिल्लो पुस्तक ‘उत्तम नेपाली, नेपाली आधुनिक कलाको बलियो स्तम्भ’ हो । यस्तो पुस्तक निकाल्ने मन लागेको सन्दर्भ भनेको सन् १९९१ मा नेपालको प्रतिनिधित्व गर्दै चौँथो एसियन आर्ट बायेनाले बंगलादेशमा जाने अवसर मिल्यो । त्यसबेला बंगलादेशको शिल्पकला एकेडेमीले कलाको विकासका लागि योजनाबद्ध रुपमा हरेकजसो समसामयिक कलाकारको (सम्भवतः ४० वर्ष नाघेको) सानो तर गहकिलो, पुस्तक निकालेको देखेको हँु, भारतको ललितकला एकेडेमीले पनि यस्तै गर्दोरहेछ । खारिएका कलाको समीक्षक वा कलालेखकबाट लेखाउने, अनि सस्तो मूल्यमा बिक्री गर्ने गर्दोरहेछ । एउटै पुस्तकमा एकापट्टि बंगलादेशी र अर्कोपट्टि अंगे्रजी भाषामा गरिएको पुस्तकले ती कलाकारको कलाको आधिकारिक, विश्लेषणात्मक सूचनाहरू पु¥याएको प्रवाहले आम–पत्रकार, अनुसन्धानकर्ता, भावकलाई समष्टिगत रुपमै सकारात्मक प्रभाव पारेको झण्डै बीस वर्षपछि सन् २०१० मा पुनः १४औँ एसियाली आर्ट बायेनाले बंगलादेशको कला प्रदर्शनीमा प्रतिनिधि भएर जाँदा छर्लङ्ग महशुस गरे ।

यो र यस्तै पुस्तकको बारेमा त्यतिवेलादेखि नै केही कलाकारको खाका कोर्दै आएको हुँ । बल्ल ३० वर्षपछि यो पुस्तकले आमपाठक सामु आउने मौका पायो भन्नुप¥यो । यस्तै प्रकारका पुस्तकहरू चाँहि रामानन्द जोशी र हेम पौड्यालको निकालिसकेको छु । कलाकारको कलालाई बुझ्न यो पुस्तकमा पाँचवटा क्षेत्रहरू निर्धारण गरी लेख्न प्रयास गरेको छु । पहिलोमा कलाकारको अधिकारिक तथ्यगत जीवनी, पारिवारिक जीवनी, शिक्षा, जीवनको प्रवाह, पारिवारिक र तत्कालीन समाजको वातावरण, दोस्रोमा कलाकारको कला–यात्रा, कलाका शैली, प्रवृत्तिहरू कसरी परिवर्तन हुँदै गयो आदि, तेस्रोमा कलाकारका विभिन्न बेलाका निजी विचारहरू । चौथोमा नेपाली समसामयिक कलाको विकासक्रम अनि त्यहाँ कलाकारको उपस्थिति र भूमिका कस्तो रह्यो, अन्तमा कलाकारको कलाबारे मेरो बुझाइ, विश्लेषणात्मक आलेख । यसो भएपछि भावकले सार्वाङ्गमा उनको कलालाई बुझ्न सक्नेछन भन्ने मेरो बुझाइ हो ।

० के यो पुस्तकले अग्रज कलाकार उत्तम नेपालीको कलाकारिताको आयामलाई बुझ्न सकिन्छ त ?
निश्चय पनि बुझ्न सकिन्छ होला । किनकि अध्ययन गर्ने बेलादेखि विभिन्न कालखण्डमा उनको घरको र समाजको वातावरण परिवर्तन हुँदै जाँदा यसै अनुसार विचारमा आएको परिपक्वता अनि यसै अनुसार उनका काममा भएको प्रवृत्तिगत परिवर्तन स्पष्ट पार्न सान्दर्भिक आलेख मात्र होइन अलग–अलग कालखण्डका चित्रहरू क्रमबद्ध रुपले समावेश गरेको छु । चित्रहरू मात्र हेर्दा पनि उत्तम नेपालीको कलाकारिताको आयामलाई बुझ्न भावकलाई सजिलो पर्नेछ भन्ने लागेको छ ।

कला ग्यालरीको अवधारणागत शुभारम्भ, राष्ट्रको आह्वानमा कला सिर्जना, साहित्यकारसँगको तादम्यतामा चित्रको निर्माण, कलालाई धर्म–संस्कृतिसँग जोड्नेक्रमा टुँडाल कलाको र यसैमा आवद्ध यौनको समयसापेक्ष पुनव्र्याख्या यी आदि कुराले गर्दा मैले उनलाई नेपाली आधुनिक कलाको बलियो स्तम्भ भनेको हुँ

० पुस्तकमा उत्तमलाई नेपालको आधुनिक कलाको बलियो स्तम्भका रुपमा प्रस्तुत गर्नुभएको छ । के आधारमा उहाँको मूल्यांकन गर्नुभयो ?
यसअघि धेरैपल्ट पुस्तककै रुपमा पनि नेपाली समसामयिक कलाको इतिहास लेखिसकेको छु । नेपाली समसामयिक कलालाई चारखण्डमा विभाजित गरेर निर्धारण गर्ने कोशिस गरेको छु । तेस्रो खण्डको रुपमा नेपाली कलाको आधुनिक कालखण्ड १९६० मा विकसित भएको कलाका प्रवृत्तिलाई थप मोडको रुपमा कल्पना गरेको छु । यसरी हेर्दा सन् १९६२ मा भएको चारजना आधुनिक कलाकारको एकल कला प्रदर्शनीलाई नेपाली कलाको नयाँ मोडको रुपमा हेरेको छु । यी चारजनामध्ये पनि उत्तम नेपालीको विशेष भूमिका यहाँनेर देखेकाले पनि उनलाई एउटा बलियो स्तम्भको रुपमा लिएको हुँ । उनको कलाको शैली, प्रवृत्ति, सोच–विचार, दर्शन, समसामयिकता, समाजका गतिविधिसँग नजिकमा रहेर उनको कलाको निर्माण भएको देखिएको छ ।

जसलाई सम्प्रेषण गर्न हरेक नयाँ आयामलाई एकल कला प्रदर्शनीमार्फत पस्कने उनको स्वाभावमा सवर्था नौलोपन देखिन्छ । जहाँबाट एकल कला प्रदर्शनी गर्ने लहर पनि चलेको देखिन्छ । उर्मिला गर्गलाई छोड्ने हो भने उनको एकल कला प्रदर्शनी पहिलो हो । यसअगाडि भएको तेजबहादुर चित्रकार, चन्द्रमानसिंह मास्के र गेहेन्द्रमान अमात्यको एकल कला प्रदर्शनीहरू चाँहि नेपालको आधुनिक कलाको लागि अनुकूल वातावरण बनाएको मेरो आँकलन छ । कला ग्यालरीको अवधारणागत शुभारम्भ, राष्ट्रको आह्वानमा कला सिर्जना, साहित्यकारसँगको तादम्यतामा चित्रको निर्माण, कलालाई धर्म–संस्कृतिसँग जोड्नेक्रमा टुँडाल कलाको र यसैमा आवद्ध यौनको समयसापेक्ष पुनव्र्याख्या यी आदि कुराले गर्दा मैले उनलाई नेपाली आधुनिक कलाको बलियो स्तम्भ भनेको हुँ । यी सबै कुरालाई समावेश गरी कला सिर्जना गरेका त्यतिवेलाका अन्य स्वनामधन्य कलाकारहरू तुलनात्मकरुपमा कम देखिन्छ ।


० जस्तो कलाकार नेपालीले २०१५ सालयता नेपालको कलाक्षेत्रमा विभिन्न शैली र चिन्तनमा काम गरेको पाइन्छ । उहाँको कलामा शैलीगत, चिन्तनगत या विचारगत रुपमा के कस्ता उतारचढाव आएको पाउनुभयो ?
उनको कलाको शैली र प्रवृत्तिमा धेरै नै उतारचढाव पाइन्छ, शैलीमा विविधता, भारतको ओरिन्टल आर्टबाट प्रभावित चित्र, सुक्ष्म रेखासँग खेल्नेदेखि लिएर अमूर्त कला, अर्धअमूर्त कला, व्यक्तिचित्रलाई मूल विषय बनाई आकारमूलक, अर्ध–आकारमूलक, भावना र दर्शनको समागमन, यथार्थवादीदेखि प्रभाववादी चित्रहरू, पूर्वीय दर्शन, साहित्यकार कविदेखि लिएर, समसामयिकता, कन्टेस्चुयल कलामा बढी आकृष्ट देखिन्छ । यो विविधता नै उनको मूल विशेषता रहन गएको देखिन्छ ।

० के उहाँले कलाको धार परिवर्तनमा योजनागत रुपमा काम गर्नुभएको थियो त ?
योजनागत थियो थिएन भन्दा पनि कलाकारमा आफ्नो सिर्जनामाथिको आस्था, विश्वास र निष्ठा थियो÷थिएन भन्ने सन्दर्भ महत्वपूर्ण हो जस्तो मलाई लाग्छ । कलालाई चेतन वा अवचेतन कलाकारको मनस्थितिले प्रत्यक्ष वा परोक्ष रुपमा उनको कलालाई निर्देशित गर्छ भन्ने मेरो विश्वास छ । र मैले धेरै वर्षदेखि उनलाई नजिकबाट नियाल्ने तथा उनको व्यवहार र साथै मिलेर काम गर्ने अवसर मलाई मिलेको छ । र हरेक नयाँ काममा उनीसँग छलफल, चिन्तन मनन गर्ने अवसर पाएकोले गर्दा पनि उनीमा पहिलेदेखि नै निश्चित गन्तव्य रहेको र यसैतर्फ निरन्तर रुपमा अग्रसर भएको मैले अनुभव गरेको छु । किनकि उनको घरयासी समस्या, आर्थिक समस्या आदिले उनलाई पिरोल्दा कैले पनि यस्ता कुराहरूमा चर्चा नै नगर्ने र यसले उनको कला सिर्जनामा कुनै परिवर्तन नभएको देखेको छु । जुन मेरो विचारमा सच्चा कलाकार हो ।

० उहाँका कलाका प्रवृत्तिगत विशेषताका बारेमा बताइदिनोस् न ।
उनको कलागत विशेषतामा मूलतः वर्तमान घटना, अवस्थालाई मध्य पारेर पात्रहरूको चयन गर्ने, संगठित गरी प्रस्तुत गर्ने रहेको छ । विषय र सन्दर्भ हेरेर स्वरुप, संयोजन र फरक–फरक ढाँचामा सिर्जना गर्नु । पूर्वीय संस्कृति, परम्परा र यसमा अन्तर्निहित दर्शनको पुनव्र्याख्या । समधर्मी विधा वा उपविधाहरूलाई समायोजन गर्ने । धर्ममाथिको आस्था र यसैलाई पृष्ठभूमिमा सजाएर आकारमूलक वा पूर्ण–अमूर्त प्रस्तुत गर्नु, दुवैमा समानरुपले हक राख्नु, भगवानमाथिको साकार र निराकारको अवधारणा, मूर्त वा अमूर्तजस्तो स्वरुपमा देखापरे पनि यसमा अन्तर्निहित कला तत्व एकै हुन्छ भन्ने उनका चिन्तन आदि मूलतः उनका कलागत विशेषता हो ।

० नेपाली कलाको विकासका निम्ति कलाकार उत्तम नेपालीको संस्थागत योगदान के कस्तो रहेको छ ?
नेपाली कलाको विकासको लागि उनको संस्थागत योगदान उनका समकालीन कलाकारमध्ये सबैभन्दा बढी नै होला भन्ने मेरो आँकलन छ । ग्यालरी खोल्नुपर्छ भन्ने अवधारणाका साथ कलादीर्घाभित्र संगीतमय वातावरणका साथै रमाइलो तथापि व्यक्तिगत होइन संस्थागतरुपमा कलामाथिको छलफल, बिक्रीको वातावरण लगायत संस्थागत रुपमा कलाकार समाजको अध्यक्षदेखि लिएर ललितकला प्रज्ञा प्रतिष्ठान स्थापनाको लागि गरेको संघर्षको नेतृत्व उनको सर्वथा योगदान मान्न सकिन्छ । ललितकला प्रज्ञा प्रतिष्ठानको एक्सन कमिटी, सम्भाव्यता अध्ययन कार्यदल पनि उनैको नेतृत्व, परिवर्तित स्वरुपमा विकसित भएको राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद्को सदस्य, वीरेन्द्र संग्रहालय चित्रकला खरिदको मूलसमितिमा, नाफा राजकीय प्रज्ञा प्रतिष्ठानमा गाँभिएपछि पनि सल्लाहाकार समितिको मूलसमिति आदिमा संलग्न भइ संस्थागत विकासमा उनको ठुलै योगदान छ । यसबाहेक नेपालमा भएको कुनै पनि कलाका सानो ठूलो कार्यक्रममा उनको निरन्तर संलग्नता, कार्यशाला, गोष्ठी, उच्चस्तरको राष्ट्र आदिसँगको छलफलमा अधिकांशमा उनैको नेतृत्व रहने गर्दथ्यो ।

 

० यहाँले कलालेखन प्रयाप्त हुन सकिरहेको छैन भनेर बारम्बार प्रश्न उठाइरहनुभएको छ । किन यस्तो भएको होला ?
कलालेखन केही वर्षयतादेखि बढेका चाँहि छ तर सिरियस कला–लेखन, अनुसन्धानात्मक कलालेखन हुन सकिरहेको छैन । कलाको सम्बन्धित निकायमा अनुसन्धान हुनुपर्छ भन्ने सोच, आस्था र यसका प्रक्रियाहरूमा कम जानकार भएको हो किजस्तो लाग्छ । कला–अनुसन्धान र कला–विकासबीचको समन्वय कत्तिको जरुरी छ यसको हेक्का नभएको हो कि ? कलाकार आफैमा पनि पढ्ने बानी कम भएको देखेको छु । कस्ले लेख्दैछ ? के लेख्दैछ, कत्तिको गहन छ, गुणात्मक विश्लेषण, समीक्षा भइरहेको छ, छैन ? छैन भने किन यसो भएको होला आदिबारे चासो र पहल लिनपर्छ भन्ने सोच पनि भएन कि ? लेखन पनि अलग्गै परिकल्पनादेखि, यसको रुपरेखा कोर्ने र कुन विषयलाई महत्वका साथ उठाउने आदि र यसलाई गरिनुपर्ने निवेस, कलालेखकलाई गरिनुपर्ने प्रोत्साहन आदिमा चासो नभएको हो कि ?

० नेपाली कलाको दस्तावेजीकरणमा राज्य तथा स्वयं कलाकार नै सचेत छैनन् भन्ने यहाँको भनाइ छ, खासमा यो कामको दायित्व कसको हो ?
मूलतः यो दायित्व राज्यको हो । राज्य भनेको हाम्रो सन्दर्भमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हो, यसैबाट हुनपर्छ । आफूबाट हुन नसकेको कुरा राज्यको अरु निकायसँग सम्पर्क गर्ने एडभोकेसी र लविइङ अर्थात् वकालत गर्ने कुराको पनि यसैले पहल गर्नुपर्छ ।

० के नेपालको कला समीक्षा सही ढंगले भइरहेको छ त ?
हामी जहिले पनि एकैपटक कला–समीक्षामै पुग्दछौ । कला–लेखन नै कत्तिको गहन, अधिकारिकरुपमा भइरहेको छ । यसको लेखाजोखा हुन आवश्यक छ पहिला । यसपछि गहिरो अनुसन्धानात्मक कलालेखनको अनि कलाकार, कला समीक्षक, कलालेखक, कलाका अन्य निकायहरूमा कला–समीक्षासम्बन्धी ज्ञान र आस्था, विश्वास बढाउन आवश्यक छ । यसपछि मात्रै विस्तारै कला समीक्षाको कुरा आउँछ होला अनि लेखिएका कला समीक्षामा पनि राम्रो गुणात्मकताको सन्दर्भ जोडिन्छ होला । लेख्न दिइहाले पनि पुरस्कार दिइहाले पनि, कही कलाका बारेमा बोल्न, प्रतिनिधित्व गर्नेक्रममा पनि भागवण्डामा अवसर दिन थालेपछि यसबेला किन अलग्ग कला समीक्षा चाहियो ?

० समीक्षकले समीक्षाभन्दा पनि विवरणमुखी लेखनमा आफूलाई केन्द्रित गरिरहेको पाइन्छ नी ?
सबैलाई एकै डालोमा राखेर हेर्नु हुँदैन । तथापि कला र कलाकारको विवरण पनि कला समीक्षाको एउटा महत्वपूर्ण भाग चाँहि हो ।

० कला समीक्षा कसरी गर्ने ?
यसका बारेमा विस्तारमा कुरा गर्दा एउटा सिंगो पुस्तक नै बन्ला । मैले यसैबारे एउटा सानो पुस्तक पनि लेख्दैछु । छोटकरीमा भन्दा चाँहि कुनै पनि कला समीक्षामा चारवटा क्षेत्रहरू हुन आवश्यक छ । डिस्क्रिप्सन, एनालाइसिस, पर्सेप्सन र जजमेन्ट ।
डिस्क्रिप्सन भनेकोे एक प्रकारको विवरण नै हो । यस्को संकलन, अधिकारिक श्रोतबाट कला र कलाकारवारे यथेष्ट सूचना र जानकारी राख्नु नै हो । जस्तो, कलाको माध्याम यस्को विशेषता, विषय यसमा रहेको समसामयिकता, शैली, प्रवृत्ति, पश्चिमेली वा पुर्वेली, शास्त्रीयतादेखि यथार्थ, अमूर्ततादेखि आधुनिक, उत्तरआधुनिक कला, विश्वकलाको इतिहास, नेपालको कलाको इतिहास, कलाको पृष्ठभूमि, यसवखतको सामाजिक, राजनैतिक, धार्मिक, आर्थिक, अवस्था अझ अरु धेरै क्षेत्रहरूको सूचनाहरू राख्नुपर्छ, यसपछि यसैको आधारमा विश्लेषण, यसैको आधारमा आफ्नो पर्सेप्सन, र स्थापित मान्यता प्राप्त मानांकको आधारमा कलामाथिको न्याय । कुनै पनि कलामाथिको समीक्षा आइसोलेसनमा हुँदैन । राम्रो नराम्रोका कुरा के–को आधारमा र कोसँग तुलना गरिँदैछ यसको आधारमा हुने गर्दछ ।

० नेपाली कलाको वर्तमान दिशालाई कसरी हेरिरहनु भएको छ ?
नेपाली कलाको वर्तमान अवस्था विकासतर्फ उन्मुख छ । तथापि कति सर्जकहरू अन्योलमा पनि देखिन्छन् । नेपाली कला अन्तर्राष्ट्रिय कला–उपनिवेशवादको गहिरो छापदेखि बाहिरिन सकेको देखिदैंन, कलाहरू सामाजिक राजनैतिक सवालहरूमा बन्न थालेका छन् । यो राम्रो संकेत हो तर आजको राजनैतिक, सामाजिक अवस्था र प्रचलनमाथिको आफ्नो अवधारणा राख्नेक्रममा यसवारेमा सुसूचित हुन र गहिरो जानकारी हुन आवश्यक छ । अर्कोतर्फ कलाकारको आफ्नो विचार पनि स्पष्ट आउन सकिरहेको म देख्दिन । परम्परागत कलादेखि लोककला वा समसामयिक कला सबैमा यो कुरा लागु हुन्छ भन्ने मलाइ लाग्छ ।

० यहाँलाई विश्वकला परिदृश्यमा नेपाली कलाको उपस्थिति कहाँ छ जस्तो लाग्छ ?
नेपालको उपस्थिति साह्रै तल पनि छैन, बीच कतैतिर रहेको मेरो अनुमान छ ।

० नेपाली कलामा कलाकार, राज्य, कलासम्बन्धी संघसस्था तथा विश्वविद्यालयले गर्नुपर्ने कार्य के होलान् ? जसले यस क्षेत्रको श्रीवृद्धिमा सहयोग पुग्न सक्छ ?
सही विज्ञलाई सही स्थान दिनु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि सही विज्ञको पहिचान हुन आवश्यक छ । पर्याप्त मात्रमा नेपाली कलाको कलाकारको, कलालेखनको अवस्था र सूचनाहरूको जानकार सम्बन्धित निकायमा रहन जरुरी छ । पाठ्यक्रमको विकास र परिमार्जनमा जानकार व्यक्तिलाई राखेर पाठ्यक्रमको परिमार्जन गर्नेदेखि लिएर यसलाई पढाउने, सिकाउनेक्रममा पनि सही र सम्बन्धित विज्ञबाटै गराउनुपर्छ । कपि–पेस्टको अवधारणालाई हटाउन जरुरी छ । नेपाली कलाको पहिचानको खोजी, सम्मान र आमसमुदायदेखि विश्वमा नेपाली कलालाई पहँुच कसरी पु¥याउने आदि विषयमा सोच्न जरुरी छ । म चाँहि नीतिभन्दा पनि कार्यान्वयनमा जोड दिन आवश्यक देख्छु, स्पष्ट भिजन बनाउनेदेखि लिएर यसैको आधारमा कार्यक्रमहरू बनाउने यथेष्ट अभिलेखन, समीक्षा र चिन्तन मनन गर्ने कला सिर्जना, अभिलेखन र समीक्षा, बिक्री वितरणको अनुकूल वातावरण बनाउने कुनै पनि कार्यक्रम गर्दा यसको उद्देश्य यसको प्रतिफलबारे आयोजकमा जानकारी रहन आवश्यक देख्छु । बग्रेल्ती कार्यक्रममात्र गरेर कला विकास हुन्छजस्तो मलाई चाँहि लाग्दैन ।

प्रतिक्रिया