गरुडा हत्याकाण्डका आरोपी पुर्पक्षका लागि जेल चलान

रौतहट । गरुडा हत्याकाण्डका अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ । ३१ साउनमा गरुडा नगरपालिका–८ जिंगडीयाका २० वर्षीय निरञ्जन रामको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका सात जनामध्ये तीन जनालाई अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

हत्या गरेको आरोपमा पक्राउ परेका सोहीगाउँका अर्जुन राम, अजयकुमार रञ्जन र शेख आजादलाई जिल्ला अदालत गौरले मंगलबार पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवतmा डिएसपी भरत श्रेष्ठले जानकारी दिए । घटनामा मुख्य योजनाकार भनेर पीडितले किटानी जाहेरी दिएका नर्सरी सञ्चालक भने साधारण तारेखमा छुटेका छन् । श्रेष्ठका अनुसार पक्राउ परेका सात जनामध्ये निरञ्जन कार्यरत नर्सरीका सञ्चालक राजाराम साहलाई प्रमाण नपुगेको भन्दै अदालतले साधारण तारेखमा छाडेको हो ।

त्यस्तै, घट्नामा पक्राउ परेको १९ वर्षीय विवेक राय यादवको उमेरका कारण पुनःस्थापना केन्द्र पठाउने आदेश भएको छ । निरञ्जन हत्यामा पक्राउ परेका अर्का सिकिन्द्र पासवानको मनस्थिति ठीक नभएकाले तत्काल उपचारका लागि पठाउने र ठीक भएपछि अदालत पेस गर्ने आदेश भएको डिएसपी श्रेष्ठले जानकारी दिए । पासवानले अदालतसमक्ष वयान दिननसक्ने अवस्था आएकाले उपचार गराउने आदेश भएको हो । यो घटनामा पक्राउ परेर विजय महराको भने घट्ना स्वीकार गराउने क्रममा प्रहरीको कुटपिटबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया