दृष्टी फाउन्डेसनको भवन बन्न सकेन

धनगढी । मुठिदानबाट भाडाको भवनमा सञ्चालित दृष्टि फाउन्डेसन नेपालले सहाराविहीनहरूको अभिभावकत्व ग्रहण गरिरहेको छ । त्यहाँ ४० जना असहायले आश्रय लिइरहेका छन् ।

फान्डेसनको घरभाडा धनगढी उपमहानगरपालिकाले नै तिरिरहेको छ । मानव सेवा गर्न थप सहज होस् भन्नका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयपालिका बैठकले वडा–४ शिवपुरी सामुदाय वनको साढे तीन कट्टा जमिन दृष्टि फाउन्डेसनलाई उपलब्ध गराएको थियो । उपलब्ध भएको जग्गामा टहरा बनाएर बस्नका लागि ८ जेठमा शिलान्याससमेत गरेको दृष्टि फाउन्डेसनकी सञ्चालिका कल्पना भट्टले बताइन् ।

ढुंगा, इँटासमेत ढुवानी गरिसकेका थियौँ । स्थानीयले आप्mनो टोलमा पागल खाना राख्न नदिने भन्दै विरोध गरे,’ उनले भनिन्, ‘उनीहरूको अवरोध र विरोधका बीच काम रोकियो ।’ ‘पागल खाना सञ्चालन गरे जग्गाको मूल्य घढछ् भनेर काममा अवरोध सिर्जना भयो’, उनले बताइन् । प्रदेशसभा सदस्य डिल्लीराज पन्तले सांसद विकास कोषबाट दृष्टि फाउन्डेसनलाई १० लाख रुपैयाँ विनियोजन गरेको भए पनि बजेट समेत फ्रिज गएको भट्टले दुःखेसो गरिन् ।

स्थानीयहरूले बस्तीको नजिक भएकाले मानसिक रोगीका लागी भवन निर्माण गर्न नदिने जनाएका छन् । बस्तीमा मानसिक रोगीलाई राख्दा समाजमा असर पर्ने भन्दै भवन निर्माण गर्न नदिएको धनगढी–४ का स्थानीय मोहन भण्डारीले बताए । आफूहरूसँग कुनै छलफलै नगरी छापामार शैलीमा आएर भवन निर्माण गर्दा विरोध गरेको उनले बताए । धनगढी उप–महानगरपालिकाले उपलब्ध गराएका ठाउँमा अवरोध भएपछि अर्को ठाउँ खोजी रहेको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।

प्रतिक्रिया