आइसोलेसन भवनको निर्माण अन्तिम चरणमा

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–६ शिवनगरमा निर्माण भइरहेको ५० श्ययाको आइसोलेसन भवनको काम अन्तिम चरणमा पुगेको छ । सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेशको ९७ लाख र जिल्लाका स्थानीय तह, संघसंस्थाको सहयोगमा निर्माण भइरहेको आइसोलेसन भवनको काम अन्तिम चरणमा पुगेको हो ।

भदौको पहिलो साताबाट निर्माण सुरु गरिएको भवन १ असोजबाट सेवा प्रदान गर्न भनिएता पनि जिल्लामा परेको निरन्तर वर्षाको कारण एक हप्ता ढिलाइ हुने आइसोलेसन भवन निर्माणका संयोजक अशोक श्रेष्ठले जानकारी दिए । भवन निर्माणका लागि जिल्लाका नौ वटा स्थानीय तहमध्ये अधिकांशले पाँच÷पाँच लाख रुपैयाँ, विभिन्न संस्थासंस्था, कर्मचारी, शिक्षकलगायत व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेको संयोजक श्रेष्ठले बताए । यस्तै उनका अनुसार नगदसँगै जिन्सी सामग्री पनि सहयोग भएको छ । ५० बेड क्षमताको उक्त आइसोलेसन भवन निर्माणका लागि ३ करोड ३६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

आइसोलेसन भवन निर्माणमा जिल्लाका स्थानीय तह, संघसंस्था, कर्मचारी, नागरिकबाट हालसम्म ८० लाख ७७ हजार ४ सय ४७ रुपैयाँ सहयोग प्राप्त भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि बाग्मती प्रदेशसभा सदस्य राजन दाहाल, प्रदीप कटुवाल, विनोद खड्का लगायतका जनप्रतिनिधिहरू सहयोग जुटाउन लागिपरेका छन् भने नागरिकहरू स्वतःस्फूर्त श्रमदानसमेत गरिरहेका छन् ।

यस्तै आइसोलेसन निर्माणका लागि कमलामाई नगरपालिका सिन्धुली र इन्जिनियर्स फोरम सिन्धुलीले प्राविधिक सहयोग गरेको छ । अब बन्ने आइसोलेसन भवन भेन्टिलेटर, आइसियूसहितको सुविधा सम्पन्न हुनेछ भने आइसोलेसन सिन्धुली अस्पताल मातहत सञ्चालन हुने अस्पताल विकास समितिले जनाएको छ ।

प्रतिक्रिया