बुसानमा ‘ऐना झ्यालको पुतली’

काठमाडौं । सुजित बिडारीले निर्देशन गरेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छानिएको छ । यो चलचित्र दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धाका लागि छनोटमा परेको हो । सोमबार भर्चुअल प्रेसमिटसँगै बुसानले यो सालको लाइनअप सार्वजनिक गरेको हो । जस अनुसार बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’ मा ‘ऐना झ्यालको पुतली’ छानिएको हो ।

यस सेक्सनमा नेपालको सो चलचित्रसँगै अन्य विभिन्न देशका १० फिल्म छानिएका छन् । कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने नियम अनुसार ‘न्यु करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई चलचित्रले ३० हजार अमेरिकी डलर (नेरु ३५ लाख) प्राप्त गर्नेछन् ।  सो फेस्टिभलमा मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली चलचित्रमा ‘ऐना झ्यालको पुतली’ पर्न सफल भएको हो । फरक धारमा चलचित्र निर्माण गरिरहेका नवीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ ले यसअघि न्यु करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसिओके अवार्डमा छनोट भएको थियो ।

बर्लिन, कान्स, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको २५औँ संस्करणमा नेपाली चलचित्र छनोटमा पर्न सफल भएको हो । कोरोना कहरका बीच भर्चुअल माध्यमद्वारा हुने फेस्टिभल यस वर्ष २१ अक्टोबरबाट सुरु भएर ३० मा सकिनेछ । सुजितको लेखन तथा निर्देशनमा बनेको ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ पहिलो हो । यसअघि उनले ‘सावित्री’ को लेखन तथा निर्देशन गरेका थिए । जसमा नेपालको एक पहाडी भेगमा रहेको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या) को सहरमा गएर पढ्ने सपनाको विषयलाई कथाका रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया